केन्द्रीय कारागारका चार कैदीको अस्पतालमा ज्यान गयो, एक जनामा कोरोना पुष्टि


काठमाडौं : केन्द्रीय कारागारका चार जना कैदीको ज्यान गएको छ । जसमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेगा अस्पतालमा एक कैदी र वीर अस्पतालमा तीन कैदीको ज्यान गएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । उनका अनुसार मेगा अस्पतालमा सोमबार राति ज्यान गुमाएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको छ ।

वीर अस्पतालमा मंगलबार ज्यान गुमाएका तीन जनामध्ये कसैको पनि कोरोना रिपोर्ट आएका छैन । उनीहरुको पनि स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको छ । कोरोनाकै कारण उनीहरुको पनि ज्यान गएको अनुमान गरिएको छ ।

मृतक चारैजना विभिन्‍न रोग लागेर विरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना पुष्टि भएका मृतकको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गर्न लागिएको छ । रिपोर्ट नआएकाले तीन मृतकको शव तत्काल व्यवस्थापन गरिने छैन । पोजेटिभ रिपोर्ट आएपछि सेनाले शव व्यवस्थापन गर्ने र रिपोर्ट नेगेटिभ आएपछि परिवारलाई बुझाउने बुझिएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ