सप्तरी प्रहरीले सालको काठसहित दुई तस्करलाई समात्यो, एकजना फरार


टुडेखोज/ राजविराज : सप्तरी प्रहरीले सालको काठसहित दुई तस्करलाई पक्राउ गरेको छ । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी १ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको हो ।

रुपनी गाउँपालिका १ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित उनी दुबै जना मंगलवार पक्राउ परेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले जानकारी दिए । उनका अनुसार तीन थान सालको काठ ९२.१८ घनफिट० बरामद भएको छ ।

पक्राउ परेका दुबै जनालाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको छ । काठ ओसारिरहेकामध्ये एक जना भाग्न सफल भएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिए ।

पक्राउ परेका दुबै जनाको पिसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने रेञ्जर साफीले जानकारी दिए । बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको उनको भनाई छ ।

बन्दाबन्दी र निषेधाज्ञाको फाइदा उठाएर तस्करहरु काठ ओसार्न पल्केका छन् । प्रदेश २ का अन्य जिल्लाहरुमा पनि पछिल्लो समय काठ तस्करी मौलाएको स्रोतले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ