सत्तरी करोड कमिशन काण्ड : बयान लिन बिजयलाई बोलायो अख्तियार


टुडेखोज/ काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र हाजिर हुन सूचना निकालेको छ । अख्तियारले बुधबार सूचना जारी गरेर सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित भएको छ’, अख्तियारको सूचनामा भनिएको छ । बयानका लागि अख्तियारमा आउन ७ दिनको म्याद दिएको छ ।

‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत सक्षम सम्पर्क राख्न आउनु होला, नआए कानून बमोजिम भई जानेछ’, सूचनामा भनिएको छ ।

मिश्रको सार्वजनिक गरेको घुस काण्डको अडियो टेपका कारण गोकुल बास्कोटाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री पद गुमाउनु परेको थियो ।

कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको अपराधबाट उम्कन सक्दैन भन्दै मिश्रले भनेका छन्, ‘सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रिन चरित्र हो ।’

उनले आफूलाई भाग्यो भनेर आरोप लगाउनु न्यायलाई विचलित पार्न, अनुसन्धानलाई फितलो बनाउन, जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रोपोगान्डा भएको दाबी गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १२:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ