नेपालमा बाढीको वितण्डा : ११ जनाको लाश भेटियो, २३ घर बगायो


टुडेखोज/ बाग्लुङ : बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएकामध्ये ११ जनाको शव (लाश) फेला परेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म ७ जना पुरुष र ४ जना महिलाको शव फेला परेको हो । अझै धेरै जना बेपत्ता रहेको घटनास्थल पुगेका नेपाल प्रहरीका इन्सपेक्टर प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

बाढीमा कम्तिमा २३ वटा घर बगाएको प्रहरीले जनाएको छ । बाढीले क्षति गरेको क्षेत्र ठूलो भएकाले अझै जनधन र भौतिक क्षति भएको हुन सक्ने बताइएको छ । बाढीले एक स्वास्थ्य चौकी, एक विद्यालय, एउटा झोलुङ्गे पुल पनि बगाएको छ ।

बाढीले त्यहाँको सडक र दर्जनौ सवारी साधन पनि बगाएको इन्सपेक्टर भण्डारीले बताए । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टर चढेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङस्थित पहिरोग्रस्त ढोरपाटन क्षेत्रतर्फ लागेका छन् । पहिरो पीडितलाई आवश्यक राहत सामग्री लिएर उनी पहिरोग्रस्त क्षेत्र जाँदैछन् ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १२:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ