प्रदेश २ : कोरोना संक्रमितको ज्यान बचाउन ५ जनाद्वारा ‘प्लाज्मा दान’


टुडेखोज/ पर्सा : कोरोना संक्रमितहरुको उपचारका लागि वीरगञ्जमा पाँच जनाले ‘प्लाज्मा दान’ गरेका छन् । वीरगञ्ज महानगरपालिका ४ का वडाध्यक्ष जगत साह कानु, सञ्चारकर्मी सुरेश विडारी, डा. प्रहलाद अधिकारी, प्रवेश ढंगेल र खसीकान्त चौधरीले ‘प्लाज्मा दान’ गरेका हुन् ।

नागरिक सरोकार समाज तथा नारायणी अस्पताल प्लाज्मा थेरापी स्टडी गु्रपको आयोजना उनीहरुले ‘प्लाज्मा दान’ गरेका छन् । ‘प्लाज्मा दान गरौं, कोरोना संक्रमितको ज्यान बचाऔं’ भन्ने नाराका साथ आयोजित प्लाज्मा दान कार्यक्रममा कोरोना संक्रमित भई पूर्ण रुपमा निको भएका ५ जनाले प्लाज्मा दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार दान गरिएको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा बैंक’मा सुरक्षित राखिने र आवश्यक पर्दा कोरोना संक्रमितलाई चढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । ‘प्लाज्मा बैंक’का लागि रक्तसञ्चार केन्द्र वीरगञ्जमा आवश्यक व्यवस्था मिलाई सकिएको छ ।

प्लाजमा थेपारीबाट कोरोना संक्रमितहरुलाई उपचार गर्ने उद्देश्यले तीन महिना अघिदेखि थालिएको प्रयासले सार्थकता पाएको चिकित्सक संघ नारायणीका सचिव डा उदय नारायण सिंहले बताए । गम्भीर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने हुँदा जरुरी पर्दा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकाले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको उनको भनाइ छ ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार २१:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ