शुक्रबार एकैदिन थपिए १३ सय ५९ कोरोना संक्रमित, थप १४ जनाको ज्यान गयो


टुडेखोज/ काठमाडौं : शुक्रबार देशभर १३ सय ५९ कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५९ जना थपिएसँगै संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष छन् । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला छन् ।

यस्तै सप्तरीका ५५–५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र १९, शुक्रबार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ