टुडेखोज/ जनकपुरधाम : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लागि सरकारले लकडाउन गरेका कारण कैयौं गरिब मजदुर समस्यामा परेका छन् ।
छाक टार्न समस्या भएका गरिब मजुदरका लागि राहत दिन प्रदेश २ सरकारले करोडौं रुपैया खर्च गर्यो । पहिलो चरणमा सिधा प्रदेश सरकारले स्थानीय तहमा राहत वितरणका लागि रकम पठायो । दोस्रो चरणमा घरेलु कार्यालय मार्फत हरेक वडामा राहत पठायो ।
पहिलो चरणमा स्थानीय तहहरुले राहत बाँडे पनि दोस्रा चरणको राहत अझै कतिपय स्थानीय तहले बाँडेका छैन । धनुषाको सबैला नगरपालिकाले दोस्रो चरणको राहत बाड्न नसक्दा गोममै कुहिन थालेको छ । त्यहाँका गरिब मजदुरहरुलाई भने छाक टार्न समस्या भइरहेका बेला राहत कुहिन थालेको हो ।
सबैलाका मेयर विजय शंकर साहले दोस्रो चरणको राहत सबै वडाले बुझेर बाँडिसकेको दावी गरे । उनले टुडेखोजसँग भने, ‘सबै वडाले राहत लगिसकेको छ । बाँडेको होला नी ।’
तर सबैले कतिपय वडाध्यक्षले राहत अझै नबुझेको दावी गर्छन् । वडाध्यक्षहरुको भनाई अनुसार मेयर साह झुठो बोलिरहेका छन् । अस्पतालमा मेयर साहले राखेको राहत कुहिन थालेको स्थानीयले टुडेखोजलाई जानकारी गराएका हुन् । स्थानीय भनाईले पनि मेयर साह झुठो बोलेर गल्ती लुकाउन खोजेको देखिन्छ ।
सबैला वडा नम्बर १० का वडाध्यक्ष प्रमेश्वर साहले प्रदेश सरकारले दोस्रो चरणको राहत घरेलु मार्फत ६० पोका मात्र पठाएकाले वितरण गर्न नसकेको बताए । ६० पोका राहत मात्र रहेको तर राहत लिनेको संख्या धेरै भएकाले विवाद हुनसक्छ भन्दै वितरण नगरेको उनको भनाई छ ।
उनले घरेलु मार्फत आएको राहत अहिलेसम्म आफुले नबुझेको दावी गरे । मेयर साहले सबै वडाध्यक्षले राहत लगेको दावी गरेपनि वडाध्यक्ष साहले आफ्नो वडाको लागि आएको राहत नगरपालिकामै रहेको स्पष्ट पारे ।
यस्तै वडा नम्बर १ का अध्यक्ष कपिल गडेरीले पनि दोस्रो चरणको राहत वितरण गरेन । उनी भन्छन्, ‘पहिलो चरणमै म ६० पोका बढी बाँडेको थिए । त्यसैले घरेलुले पठाएको ६० पोका राहत मैले नगरपालिकामै छाडिदिए ।’