महोत्तरीमा क्रसर माफियाले भत्काए तटबन्ध, प्रहरी प्रशासन मौन


सुरेन्द्र सिंह/ महोत्तरी : जिल्ला समन्वय समिति महोत्तरीले खोला उत्खननमाथि प्रतिवन्ध लगाएको छ । तर खोला खनिने क्रम अझै रोकिएका छैन । कतै नगरपालिकाको मिलोमतोमा त कतै प्रहरी प्रसाशनको मिलोमतोमै उत्खनन भइरहेको छ । कतिपय ठाउँ यस्तो छ– जहाँ क्रसर माफियाको राज नै चल्छ ।

धनुषामा क्रसर माफियाले पर्यावरण अभियन्ता दिलिप महतोको हत्या नै गर्यो । धनुषामै बन्दुक (पेस्तोल) देखाएर उत्खनन गरेको घटना पनि सार्वजनिक भयो । तर अझै महोत्तरीमा क्रसर माफियाको राज चलेको छ । बर्दिबास नगरपालिका ६ स्थित सुमित बालुवा प्रशोधन उधोग प्रालिले दादागिरी शैलीमा नदी उत्खनन् गरिदै आएको छ ।

केहि दिन पहिला बर्दिबास नगरपालिका ६ किसाननगरस्थित रातु खोलामा करिव १५ लाखको लागतमा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध सुमित बालुवा प्रशोधन उधोगले भत्काइदिएको छ । उत्खनन गर्ने उदेश्य तटबन्ध भत्काएर बाटो निर्माण गर्न लागेको स्थानीय मनोज साहले बताए ।

तटबन्धको सय मिटर पुर्व रहेको क्रसर उद्योगले रातीको समयमा उत्खनन गर्न उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको स्थानीय बताउँछन् । उक्त क्रसर उद्योगको गाडीले तटबन्धमाथि ग्राभेल हालेको र तटबन्ध माथिबाट टिपर र जेसिबी चलाउँछ ।

स्थानीय भन्छन्, ‘प्रशासनलाई जानकारी गराउँदा केहि समयमै प्रहरी आए । प्रहरीले गाडी देखेरपनि नदेखेको जस्तो गरेर त्यहाँबाट फर्किए ।’ तटबन्ध माथिबाट गाडी लान खोज्दा नयाँ निर्मित तटबन्धको केहि भाग पुर्ण रुपमा क्षतिग्रस्त बनेको उनले सुनाए ।

तटबन्ध माथिबाट बाटो निर्माण गर्नका लागि खोला उत्खनन गरिरहेका बेला स्थानीय देखेपछि रोक्न पुगे । तर क्रसरका मेनेजर सुनिल साहले आफुलाई वडा अध्यक्षले भनेपछि मात्रै खनेको भनेपछि आफुहरु फर्केको स्थानीय बताउँछन् ।

यता, बर्दिबास नगरपालिका ६ का वडाध्यक्ष पदम आले आफुलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको बताए । उनले आफुले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्ध माथिबाट बाटो निर्माण गर्न अनुमती नदिएको दावी गरे ।

सुमित बालुवा प्रशोधन क्रसर उधोगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको बताए ।

प्रकाशित : २०७७ भाद्र २४, बुधबार ०८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ