प्रधानमन्त्री ओलीले दिए जितिया पर्वको शुभकामना, भने- घरभित्रै बसेर मनाउनुस्


टुडेखोज/ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्व घरभित्रै बसेर मनाउन अपिल गरेका छन् । विश्वव्यापी कोरोना भाइरसको कारण घरबाहिर निस्किने अवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीले घरमै बसेर पर्व मनाउन आग्रह गरेका हुन् ।

उनले घरमा पनि सामाजिक दूरी कायम गरी परिवारका सदस्यहरु मात्रै पर्व मनाउन सुझाएका छन् । जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले हरेकले आ-आफ्नो पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको बताएका छन् । आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान गर्दै जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने प्रधानमन्त्री ओलीद्वारा जारी सन्देशमा उल्लेख छ ।

जितिया पर्व विशेष गरी पूर्वी तराईवासी र थारु महिलाले मनाउने गर्दछन् । ‘आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेको छ’, सन्देशमा भनिएको छ ।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई ‘नहाय खाय’, अष्टमीको दिनलाई उपवास र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज जितियाको मुख्य दिन हो । जितिया पर्वमा ३६ घण्टा उपवास बस्नुपर्ने भएकाले कठोर ब्रत मानिन्छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ