महोत्तरी : मिटरब्याजी चौधरीको घरमा प्रहरीको छापा


जनकपुरधाम : महोत्तरीका चर्को मिटरब्याजी विजय चौधरीको घरमा प्रहरीले छापा मारेको छ । औरही नगरपालिका १, औरही बजारका मिटरब्याजी चौधरीको घरमा बिहीबार साँझ प्रहरीले खानतलासी गरेको हो ।

स्थानीय दलित तथा विपन्न परिवारलाई प्रतिबजार चर्को ब्याजदरमा ऋण दिएर १० गुनासम्मको कपाली तमसुक बनाउने, समयमा ऋण नतिर्नेलाई कुटपिट तथा यातना दिने, श्रीमतीलाई उठाउने धम्की दिनेजस्ता गतिविधिले ऋणीहरू विस्थापित हुन थालेको समाचार बुधबार नेपालखबरसमा सार्वजनिक भएपछि प्रहरीले चौधरीको घरमा छापा मारेको हो ।

चौधरीको घरमा खानतलासी गरिएको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर विष्टले जानकारी दिए । ‘समाचारको आधारमा हामीले उनको घरमा खानतलासी गर्यौं । तर कुनै कागजात फेला परेन,’ उनले भने ‘हामी विजय चौधरीको विषयमा थप अनुसन्धान गर्दैछौं ।’

तीन वर्षयता चौधरीले स्थानीय गरिब तथा विपन्नलाई बाध्यात्मक अवस्थामा प्रतिबजार हजारका दरले ऋण दिने गरेका छन् । उनले दिने एक लाख रुपैयाँ ऋणको ब्याज चार दिन अर्थात् अर्काे बजारसम्म २ हजार १९ रुपैयाँ हुन्छ । यो हिसाबले महिनाको १७२ प्रतिशत ब्याज हुन्छ ।

तमसुक बनाएर १० प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने कानुनी व्यवस्था छ । तर सुदखोर चौधरीले कानुनविपरीत चर्को ब्याजमा ऋण लागानी गरिरहेका छन् । समयमा ऋण फिर्ता नगर्नेलाई शौचालयमा थुनेर कुट्ने, श्रीमती उठाइदिने धम्की दिनेजस्ता क्रुरताले औरही बजारका चार घरपरिवार विस्थापित भएका छन् भने एक जनाको अकालमै मृत्युसमेत भएको छ ।

– शैलेन्द्र क्रान्ती/ नेपालखबर

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ