चरम शोषण गरिरहेको भन्दै देशभरका नर्सहरू आन्दोलनमा


काठमाडौं : स्वास्थ्य क्षेत्रमा न्यायोचित व्यवस्थापन नभएको र चरम शोषण गरिरहेको भन्दै देशभरका नर्स आन्दोलनमा उत्रिएका छन् ।

कोभिड महामारीको अग्रपंक्तिमा खटिएका नर्सहरू आन्दोलनमा उत्रिएको नर्सहरु बताउंछिन् । पटक–पटकको दबाबबाट पनि सम्बन्धित निकायले ध्यान नदिएपछि उनीहरूले शुक्रबार नर्सहरूको छाता संगठन नेपाल नर्सिङ संघको कार्यालय परिसरमा विरोध प्रदर्शन गरे ।

नर्सिङ विभागमा भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेकी संयोजक ज्योति रानाभाटले भन्छिन्, ‘स्वास्थ्य मन्त्रालयमा हामी नर्सहरूको न्यायोचित व्यवस्थापन गर्ने महाशाखा त छैन नै सिंगो सीपयुक्त नर्स जनशक्तिलाई चिकित्सा शाखाअन्तर्गत राखी हेप्ने, चेप्ने, निमोठ्ने र चरम विभेद तथा शोषण गरिएको छ ।’

सरकारी प्रतिष्ठान, गैरसरकारी तथा निजी संस्थाहरूमा समेत नर्सहरू चरम शोषणमा परेको उनले गुनासो गरिन् ।

भ्रष्टाचारविरुद्धको अभियानकी अर्की अभियन्ता जिता बरालले ९९ प्रतिशत महिलाको सहभागिता भएको नर्सिङ पेसामा नर्सिङ शिक्षा र सेवा दुवै क्षेत्रमा नर्सहरू पीडित बनेको बताइन् । ‘नर्सहरू विक्षिप्त छन्, त्यत्तिकै मात्रामा असुरक्षित पनि । यस्तो अवस्था कहिलेसम्म रहने ? यसको जिम्मेवारी नेपाल नर्सिङ संघले लिनुपर्छ,’ उनले भनिन् ।

सम्पूर्ण नर्सको समस्यालाई उपयुक्त समयमा सम्बोधन नगर्दा यो भयावह समय आएको उनीहरूको भनाइ छ । संयोजक रानाभाटले नर्सहरूको अन्यायमा केही नतिजाउन्मुख कार्यहरू नदेखिएकाले महामारीको समयमा पनि आन्दोलनमा आउन बाध्य भएको बताइन् ।

‘हाम्रो मागमा यथाशीघ्र सम्बन्धित निकायले नतिजासहित जवाफ नदिएको खण्डमा नेपाल नर्सिङ संघको विरुद्ध चर्को विरोध गर्नेछौँ,’ उनले भनिन् ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ