सप्तरी : अदालतका श्रेस्तेदार र सिडिओका भान्सेमा पनि कोरोना पुष्टि


टुडेखोज, सप्तरी : प्रशासनले निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जनामा कोरोना पुष्टि भएको छ । रिपोर्ट अनुसार जिल्ला अदालतका श्रेस्तेदार र सिडिओका भान्सेमा पनि कोरोना पुष्टि भएको हो ।

अदालतका स्रेस्तेदारसहित पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्सेमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा डायलासिस सेवा लिइरहेकी मिर्गौला पीडित एक महिला, आकस्मिक सेवामा उपचाररत तीन बिरामी तथा राजविराजस्थित आइसोलेसन केन्द्रमा कार्यरत दुई सरसफाइ कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।

यस्तै राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी, एक प्रहरी, छिन्नमस्ता अस्पताल राजविराजका दुई कर्मचारीमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति १२ बजेदेखि निषेधाज्ञा हटाएको छ । निषेधाज्ञा हटाएपछि कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्ने सम्भावना देखिएको स्वास्थ्य विज्ञहरु बताउँछन् ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ