निरन्जन हत्याकाण्ड : ३ जना कारागार चलान, दुईजना अझै फरार


टुडेखोज, रौतहट : निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।

गरुडा नगरपालिका ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई अदालतले पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि मंगलवार नै उनीहरु कारागार चलान भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका ७ जनामध्ये निरन्जन कार्यरत नर्सरीका सञ्चालक राजाराम साहलाई पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले साधारण तारेखमा छोडेको छ । अर्का आरोपित १९ वर्षीय विवेकराय यादवको उमेर नपुगेका कारण पुनर्स्थापना केन्द्र पठाउने आदेश दिइएको छ ।

आरोपित सिकिन्द्र पासवानको मानसिक स्थिति ठिक नभएकाले उनलाई उपचारका लागि अस्पताल पठाउने र ठिक भएपछि अदालतमा पेश गर्ने आदेश पनि अदालतले दिएको छ ।

गरुडा नगरपालिका ८ जिंगडियाका निरन्जन रामको साउन ३१ गते हत्या भएको थियो । निरन्जनको हत्यापछि पक्राउ परेका ७ जनालाई प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइएको थियो ।

उक्त जाहेरीमा नाम परेकामध्ये २ जना अझै पनि फरार रहेको प्रहरीले जनाएको छ । निरञ्जनको हत्या आरोपमै पक्राउ परेका विजय रामको भने प्रहरीको यातनाका कारण मृत्यू भइसकेको छ ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ