असोज ५ देखि आन्तरिक उडान सुरू हुने, नयाँ नियम तय !


काठमाडौं : आन्तरिक हवाई यात्रामा यात्रुहरूका लागि नयाँ नियम तय गरिएको छ । असोज ५ गतेदेखि नेपाली आन्तरिक हवाई यात्रा सुरू हुँदैछ ।

नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ । यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ ।

यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ । विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ ।

सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ । अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रालयले लकडाउन अघिको एयरलाइन्सहरूको बजार हिस्साको आधारमा उडान तालिका स्वीकृत गरी उडान सुरू गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । एयरलाइन्सहरूले लकडाउन अघि भइरहेको उडानको २५ प्रतिशतमात्र उडान हुनेगरी पाँच गतेदेखि एक महिनाको उडान तालिका स्वीकृत गर्नुपर्ने छ। यसो हुँदा एयरलाइन्सहरुले आफ्नो बजार हिस्साअनुसार उडान तालिका पाउने छन् ।

यसअघि जहाजका आधा सिटमा मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारले निर्णय गरेको भएपनि मन्त्रालयले भने एयरलाइन्सलाई भौतिक दुरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरिदिएको छ ।

एयरलाइन्सहरुले आधा सिट खाली राखेर व्यावसायिक उडान गर्न नसकिने बताउँदै आएका थिए । – सेतोपाटी

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ