धनुषामा हट्यो निषेधाज्ञा ! सिडिओ भन्छन्- खुकुलो पारेका छौं


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसको संक्रमण झन झन बढ्दै गएको बेला धनुषामा आजदेखि निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले भदौं २८ गते असोज ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निजी सवारी सधान जोर–बिजोर प्रणाली अनुसार चलाउन पाइने भनिएको थियो । साथै पसल समेत दुई सिफ्टमा खोल्ने निर्णय गरेको थियो ।

तर असोज ४ गते प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जारी गरेको सूचनामा निषेधाज्ञाको समय बढाइएको छैन । सूचनामा भनिएको छ, ‘सरकारल तोकेको मापदण्ड पुरा गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन चलाउनु पर्नेछ ।’ ढुवानीका सवारी साधनमा भने जोर–विजोर प्रणाली लागु नहुने बताइएको छ ।

सार्वजनिक भाडाका सवारी साधनमा भने सित क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भनिएको छ । सरकारले भने सिट क्षमताको आधा यात्रु मात्र राख्न पाइने भनेको छ । जिल्ला प्रशासन कार्यालयले संघीय सरकारकै मापदण्ड उल्लंघन गरको देखिन्छ ।

सूचनामा अत्यावश्यक पसल र अन्य पसल खोल्न पाइने वा बन्द राख्ने विषयमा केहि उल्लेख गरिएको छैन । यसअघि अत्यावश्यक पसल र अन्य पसल दुई सिफ्टमा खोल्न पाइने भनिएको थियो ।

सिडिओ भट्टराईले टुडेखोजसँग भने, ‘निषेधाज्ञा हटेको छैन । तर खुकुलो पारेका छौं ।’ सवारी साधान जोर–विजोर प्रणाली अनुसार चलाउन पाइने भनिएको छ तर कार्यान्वयण हुँदैन भन्ने जिज्ञासमा उनले कार्यान्वणका लागि अब प्रभावकारी ढंगले अनुगमन गर्ने बताए ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ