सप्तरीमा कोरोनाले मृत्यु भएकी महिलाको शव अझै उठेन


टुडेखोज, सप्तरी : कोरोना भाइरसबाट मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका ३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन ।

रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलामा आइतबार दिउँसो कोरोना पुष्टि भएको केहि घण्टामै मृत्यु भएको थियो । सम्बन्धित स्थानीय तहले लैजान नसक्दा रातभरि शव आइसोलेशन केन्द्रमा नै रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले जनकारी दिए ।

उनका अनुसार शुक्रबार अस्पताल भर्ना भएकी महिलाको आइतबार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशन केन्द्र पु-याएलगत्तै साँझ ५ः३० बजे मृत्यु भयो । शव व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमै बसेका छन् । व्यवस्थापन गर्न नसक्ने भए शव जिम्मा दिन उनीहरुको माग छ ।

कोभिड– १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि– २०७६ मा शवलाई चाँँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्ने उल्लेख छ । कोरोना सङ्क्रमितको मृत्यु भएमा नेपाली सेनाले सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।

यसअघि मृत्यु भएका शवको व्यवस्थापन अन्य स्थानीय तहमा नगर्न दबाब दिँदै स्थानीय तहका प्रमुखले आआफ्नो स्थानीय तहमा गर्नुपर्ने भन्दै आवाज उठाएपछि शवको व्यवस्थापन आफ्नै पालिका क्षेत्रमा गरिँदै आएको छ ।

शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यक पर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङमा भएकाले शव व्यवस्थापन गर्न समस्या भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए । अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएकाले आज शव व्यवस्थापनको प्रयास भइरहेको बताए । उनले मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिने पनि बताए ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ