- राजेश विद्रोही
घटना १
कैलालीको धनगढी उपमहानगर पालिका १ का १९ वर्षीय रोशन विक गत भदौ २२ गते चोरीको मुद्दामा पक्राउ परे । उनी हिरासतमै रहँदा भदौ २६ गते झुन्डिएको अवस्थामा मृत भेटिए । उनलाई हिरासतमै प्रहरीले हत्या गरी झुन्ड्याइएको परिवारको आरोप छ । पोस्टमार्टम रिपोर्टमा पनि विकको शरीरभरी चोटै चोट देखिएको छ ।
घटना २
कैलालीकै धनगढी उपमहानगर पालिका–१४, सी गाउँका ४५ वर्षीय अमनबहादुर चन्द पनि गत साउन २८ गते प्रहरी हिरासतको शौचालयमा ब्लेडले घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परे । गाउँमा रक्सी खाएर होहल्ला गरिरहेको भनेर स्थानीयले फोन गरेपछि उनलाई प्रहरीले पक्राउ गरी लगेका थिए ।
घटना ३
रौतहटको गरुडा नगरपालिका ८, जिंगडियाका २२ वर्षीय विजय रामलाई प्रहरीले दिएको यातनाबाट उपचारको क्रममा मृत्यु भयो । भदौ ३१ गते जिंगडियाकै १७ वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या भएको आरोपमा विजयलाई ३२ गते प्रहरीले अनुसन्धानका लागि लगेका थिए । ११ गते उपचारको क्रममा वीरगञ्जको नेसनल मेडिकल कलेजमा उनको मृत्यु भयो ।
घटना ४
धनुषाको सबैला नगरपालिका १२, भरकुरुवाका २३ वर्षीय ट्याक्टर चालक शम्भु सदा २८ जेठमा प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा मृत फेला परे । तर परिवारले प्रहरीले नै हत्या गरी झुन्डाएको आरोप लगाउँदै आएका छन् । पीडित परिवारले अहिलेसम्म न्याय पाएका छैनन् । शम्भु र राजु सदाको न्यायका लागि प्रदेश २ का दलितहरू आन्दोलित छन् । आन्दोलनको क्रममा केही आन्दोलनकारी घाइतेसमेत भए । तर पीडित परिवारले अहिलेसम्म पनि न्याय पाउन सकेको छैनन् ।
घटना ५
चितवनको राप्ती नगरपालिका २, मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङलाई सुरक्षाकर्मीले कुटपिट गर्दा उपचारको क्रममा उनको पनि मृत्यु भयो । उनीसहित पाँच जना निकुञ्जमा घुँगी टिप्न गएका थिए । निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।
घटना ६
ललितपुरको जावलाखेल महानगरीय प्रहरी परिसरमा गत असार १७ गते बलात्कार आरोपमा पक्राउ परेका २४ वर्षीय दुर्गेश यादव थुनुवाभित्र रहेका शौचालयको झ्यालमा रहेको फलामको दण्डीमा झुन्डिएर आत्महत्या गरे ।
घटना ७
मकवानपुरको जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतमा भदौ २७ गते सुवास वाइबाले झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेका थिए । उनी हत्या आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनलाई उपचार गरिरहेको छ ।
घटना ८
झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेको शौचालयमा ०७६ बैशाख १ गते १५ वर्षीय किरण कार्कीढोलीले झुन्डिएर आत्महत्या गरे । उनी मोबाइल र पैसा चोरीको आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनले आत्महत्या गरेको बताए पनि परिवारले घटना शंकास्पद भएको भन्दै छानबिनको मांग गरेका थिए । छानबिनमा उनले आत्महत्या नै गरेको निष्कर्ष निस्कियो ।
घटना ९
बाँकेको जानकी गाउँपालिका–६, का ३० वर्षीय सिके राउतका कार्यकर्ता राममनोहर लोहिया यादव ०७५ भदौ ७ गते तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा बर्दियाबाट प्रहरीले पक्राउ गरे । बर्दियाको जिल्ला प्रहरी कार्यालयको हिरासतमा प्रहरीको यातनाबाट बेहोस भएपछी ०७५ भदौमा काठमाडौंको टीचिंग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो । उनलाई राज्यविरुद्धको कसुरमा मुद्दा लगाइएको थियो ।अधिकारकर्मीहरूले घटना छानबिनको माग गरेपछि । सरकारले परिवारलाई राहतस्वरूप १० लाख दिएर घटनालाई सामसुम पारे ।
घटना १०
डोटीका जोरायल गाउँपालिका–१, गैरास्थित प्रहरी चौकीको हिरासतमा ८ मंसिर ०७६ मा गणेश पालीको शंकास्पद मृत्यु भयो । मदिरा सेवनगरी एकजनाको गाडी छेकोको आरोपमा उनलाई पक्राउ गरेका थिए । हिरासतमा पिसाब गर्न शौचालय गएकोबेला उनले औषधि खाए । शौचालयबाट बाहिर निस्केपछि उनी एक्कासी ढले । उपचारका लागि उनलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो । तर, आफन्तले कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा नाराबाजी समेत गरेका थिए ।
घटना ११
चितवनको मुग्लिन स्थायी घर भएका नेपाली सेनाका जवान राम कँडेलको पनि अस्थायी प्रहरी पोस्ट फिस्लिङपरिसरमा ०७६ मंसिर १ गते उनको मृत्यु भयो । इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा एक प्रहरी जवानसँग झगडा भएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको केही समयपछि प्रहरी भवनको दुई तलाबाट खसेर उनको मृत्यु भएको थियो । प्रहरीबाट भाग्न खोज्दा खसेको हुन सक्ने शंका गरिए पनि कुटपिटबाट मृत्यु भएको बताउँदै स्थानीय बासिन्दाले प्रहरी चौकी घेरा पनि हालेका थिए ।
घटना १२
कस्कीको जिल्ला प्रहरी हिरासतमा रहेका ३० वर्षीय मोतिहारिका भारती नागरिक सन्दीप साह ०७५ फाल्गुन १७ गते मृत्यु भयो । लागुऔषध मुद्दामा पक्राउ परेका उनी पोखरा ८, को सुन्दर मार्गमा बस्दै आएका थिए । हिरासतमा एक्कासि बान्ता गरेका उनलाई तत्काल अस्पताल लगे । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् ।
घटना १३
चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा झुन्डिएर आत्महत्या प्रयास गरेका समीर घिसिङको तीन दिनपछि ०७५ बैशाख २५ गते मृत्यु भयो । उनी चोरी आरोपमा पक्राउ परेका थिए । घटनापछि स्थानीयवासीले प्रहरी कार्यालयमा ढुंगामुढा गर्दै राजमार्ग पनि अवरुद्ध गरेका थिए ।
घटना १४
धनुषाको सबैलाई नगरपालिका ( ७, का ट्याक्टर चालक शम्भु सदा गत २८ असोजमा इलाका प्रहरी कार्यालय सबैलाको थुनामा रहेका शौचालयमा झुन्डिएको अवस्थामा फेला परे । प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले प्रहरी कार्यालयमै आक्रमण गरी आन्दोलन गरेका थिए ।
घटना १५
खोटाङ दिप्सुङ घर भई सुनसरीको धरान नगरपालिका –५ देउरालीमा बस्दै आएका ३३ वर्षीय श्रीधन विश्वकर्मा इलाका प्रहरी कार्यालय धरानमा हिरासतको शौचालयमा ०७४ भदौ ११ गते झुण्डिएर आत्महत्या गरे । आफन्तलाई नै बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
घटना १६
सिराहाको कर्जन्हा नगरपालिका(२, की प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासतको शौचालयमा ०७४ कार्तिक १३ झुन्डिएर आत्महत्या गरिन । उनी एक युवकसँगको शारीरिक सम्बन्ध गरिरहेको अवस्थामा भाइ भवेशकुमारले थाहा पाएपछि युकवसँग मिलेर भाइको हत्या गरेकी थिइन् । पक्राउ परेको पाँच दिनमै उनले आत्महत्या गरिन् ।
घटना १७
काठमाडौंको अनामनगर महानगरीय प्रहरी हिरासतमा प्रेमलाल चौधरीले आत्महत्या गरे । उनी ३० चैत ०७४ मा साढे ३३ किलो सुन तस्करीका आरोपीमध्ये एक थिए । प्रहरी हिरासतमा रहेको बाथरुममा ट्रयाकसुटको पासो लगाएर झुन्डिएर आत्महत्या गरे ।
०००
चार वर्षको अबधिमा प्रहरी हिरासतमा मृत्यु भएका यी १७ घटना हुन । यी घटनाक्रमले प्रहरी हिरासतको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । प्रहरी हिरासतको सुरक्षा बारे लामो समयदेखि बहस हुँदै आएको छ । तर, सुधार भने पटक्कै देखिएको छैन् । घटनाक्रमले पुष्टि गर्छ । हिरासत भित्रको सुरक्षाको सवाल देशको मात्र होइन, अन्तर्राष्ट्रिय मुद्दाकै सवाल हो । हिरासतमा थुनुवाको मृत्युलाई लिएर अमेरिका, बेलायतलगायत मुलुकले सम्बन्धित प्रहरी एकाइ र अधिकृतलाई कालोसूचीमै राख्दै आएका छन् । तर पनि प्रहरी अधिकारीहरूले चेतेको पाइँदैन । प्रहरी हिरासतमा मृत्यु भएको अधिकांश घटना शौचालयमा देखिएको छ । यसको मतलव प्रहरी भित्रको शौचालय बन्दीहरुको लागि हत्या गर्ने हटस्पट बनेको छ ।
कोरोना महामारीको समयमा पनि प्रहरी हिरासत असुरक्षित बनेको छ । पाँच महिनामा प्रदेश २ मा मात्र ४१९ जनाले आत्महत्या गरेका छन् । मुलुकमा तीन तहको सुरक्षा निकाय छन् । उनीहरुको भरणपोषण नागरिककै कर ट्याक्सबाट चलेको छ । तर उनीहरुबाटै नागरिक असुरक्षित महसुस गरिरहेका छन् । दिनानुदिन हिरासतमा मान्छे मारिएका छन् । यतिबेला बन्दुकको बलमा झुटो आरोमा निमुखा नागरिकलाई नियन्त्रणमा लिने कार्य भएका छन् । उनीहरुको निर्मम हत्या गरिएको छ । अनि आत्महत्या गरेको भनी झुटो प्रतिवेदन तयार पार्ने गरिएको छ । अनाहकमा निहत्था र कमजोर वर्गलाई फसाउने र हत्या गर्ने दुस्साहस प्रशासनिक निकायमा मौलाएको छ । दिनदहाडै नागरिकको न्यायको हत्या भइरहेको छ । प्रहरी निकायमा पनि निजी स्वार्थ हावी भएको छ । पद र पैसाका लागि जे पनि गर्न बाँकी राख्दैनन् भन्ने माथिका घटनाहरुले देखाएको छ । उनीहरुले पाएको कानुनी अधिकारको समेत दुरुपयोग गरिएको छ ।
प्रहरीले पनि नागरिकसँगको सम्बन्ध सुधार गर्न ‘प्रहरी मेरो साथी’ लगायत थुप्रै अभियान चलाएका छन् । तर ती अभियान राजनीतिक दलका गुलिया नारा जस्तै भएका छन् । मुलुकमा निरङ्कुश राजतन्त्रको अन्त्य त भयो तर प्रहरी सङ्गठनभित्र अझै पनि लोकतन्त्र आइसकेको छैन । प्रहरी सङ्गठनभित्र मौलाएको यसखाले सुरक्षाबाट एउटा व्यक्तिले सुरक्षा लिन सक्छ । तर समग्र नागरिकले सुरक्षा लिन सक्दैन । त्यसैले राज्यले फौजी सङ्गठन घटाउनुपर्छ । सीमित फौजी सङ्गठन राख्नुपर्छ । उनीहरुलाई सुम्पिएको कानुनी अधिकार पनि खारेज गर्नुपर्छ । हरेक नागरिकलाई सानैदेखि फौजी तालिमको व्यवस्था गर्नुपर्छ । राज्यको सुरक्षा निकायबाट कुनै पनि बहानामा मान्छेलाई मृत्यु हुनेगरी यातना दिने काम बन्द गर्नुपर्छ ।
लकडाउनको पाँच महिना अवधिमा प्रदेश २ मा मात्र १४ जना दलितको हत्या भएको छ । कैलालीका रोशन विकसहित प्रहरी हिरासतमा ४ जनाको मृत्यु भएको छ । सरकारले प्रहरीलाई फौजदारी कानुनी लगायत केही कानुनी अधिकार दिएको छ । नागरिकको सुरक्षा गर्न र सूक्ष्म तरिकाले अनुसन्धानलाई मानव अधिकार उल्लङ्घन नहुनेगरी प्रहरी सङ्गठनलाई चुस्त दुरुस्त पार्न सरकारले वर्षमा करोडौँ खर्च गर्छ । तर प्रहरी निकायबाट भइरहेको जघन्य अपराधको कहाली लाग्दो अवस्था हेर्दा ती सबै खर्चहरु बालुवामा पानी खन्याए जस्तै भएको छ । प्रहरीले अनुसन्धान र प्रशिक्षणको नाममा थुप्रै तालिम र प्रविधिहरु किन्ने गर्छन् । तर अझै पनि प्रहरी हिरासतभित्र अनुसन्धानको नाममा अनाहकमा रोशन विक र विजय रामहरू मारिन्छन् ।
महामारीमा दलितहरू भोकै रात विताउन बाध्य छन् । उपचार नपाई छट्पटिँदै दम तोडिरहेका छन् । यतिबेला दलित समुदाय चौतर्फी असुरक्षाको महसुस गरिरहेका छन् । यसबाट दलित समुदाय मात्र होइन सिङ्गो राज्य असुरक्षित छ । दलित हत्या कुनै न कुनै रूपमा जातीय विभेद र सामाजिक आन्दोलनसँग जोडिएको छ । सोहीअनुसार मधेसमा दलितमाथि हत्या, हिंसा र बलात्कारका घटना निरन्तर भइरहेका छन् । न्याय भने शून्यको अवस्थामा छ । त्यसैले हत्या गरिएकाहरुलाई राज्यले सांस्कृतिक सहिद घोषणा गर्नुपर्छ । किनभने उनीहरू सबै समाजमा रहेका जात व्यवस्थाका कारण मारिएका हुन् । समाजिक सांस्कृतिक विकृति विसङ्गतिका कारण कुटिएका छन् । दिनानुदिन यो क्रम जारी छ ।
त्यसैले सरकारले अविलम्ब छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । हरेक नागरिकलाई लोकतन्त्र र कानुनी राज्यको प्रत्याभूतिसहित बाँच्ने अधिकारको ग्यारेन्टी गर्नुपर्छ । यदि राज्य बेलैमा सचेत भएन भने दलित आन्दोलन अबको निर्णायक आन्दोलनको रूप लिनेछन् । किनारामा धकेलिएका समुदाय आफ्नो लोकतान्त्रिक अधिकारका लागि सडक र सहरमा उर्लिएर सरकारको महामारी लकडाउनलाई उल्लङ्घन गर्न बाध्य हुनेछन् ।