नेपाल रेल्वेको कर्मचारी भर्ना प्रक्रिया स्थगित भएको छैन : महाप्रबन्धक भट्टराई


टुडेखोज, जनकपुरधाम : जनकपुर (कुर्था)– जयनगर रुटमा रेल संचालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले आह्वान गरेको कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेको भनेर गलत हल्ला फैलिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर नै भर्ना प्रक्रिया स्थगित नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘भर्ना प्रक्रिया रद्द भएको छैन र हुनुपर्ने कुनै कारण पनि छैन ।’

रेल्वे कम्पनीले विभिन्न पदमा १२९ कर्मचारीका लागि विज्ञापन गरेको छ । कर्मचारीका लागि अनलाइन फारम भर्न असोज १२ गतेसम्मको समय दिएको छ । अहिले दैनिक हजारौं मानिस जागिरका लागि फारम भरिरहेका छन् ।

जनकपुरको कुर्थादेखि जयनगरसम्म ३४ किलोमिटर खण्डमा रेल डेढ महिनाभित्रै संचालन गर्ने रेल्वे कम्पनीको तयारी छ । सरकारले भारतबाट ८४ करोडमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याइसकेको छ ।

महाप्रबन्धक भट्टराईले फेसबुकमा लेखेका छन्–

नेपाल रेल्वे कम्पनिको भर्ना प्रकृया रद्द भयो भनेर २ नम्बर प्रदेशमा हल्ला फिजाइएको छ भन्ने कुरा जनकपुर स्थित संचारकर्मिहरु मार्फत जानकारीमा आएको छ । कोही कुनै भ्रममा नपर्नुहोला, भर्ना प्रकृया रद्द भएको छैन र हुनु पर्ने कुनै कारण पनि छैन ।

आबेदन दिनुहुने साथीहरु तथा आबेदन दिने प्रकृयामा रहनु भएका साथीहरुको भावना भड्काउने एस्ता खालका भ्रमको पछी नलाग्न म सबैलाई आग्रह गर्न चाहन्छु ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ