आज दिनभर वर्षा हुने, शनिबारदेखि मौसम खुल्ने !


जनकपुरधाम : केही दिनयतादेखि भइरहेको वर्षा (झरी) शुक्रबार दिनभर सक्रिय हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि भने मौसममा सुधार हुनेछ ।

महाशाखाका अनुसार बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा शनिबारदेखि सुधार आउने देखिएको हो । भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुनलाई सक्रिय गराएको छ ।

अहिलेको मौसमी प्रभाव शुक्रबार दिनभर रहने र  शनिबारदेखि सुदूरपश्चिमबाट मौसममा सुधार आउने पूर्वानुमान मौसमविदले गरेका छन् । शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही समय कुर्नुपर्ने मौसमविद वरुण पौडेलको भनाइ छ ।

नेपालमा आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुनेछ । त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधि विश्लेषणपश्चात मात्रै मनसुन बर्हिगमन हुने अवस्थाको अनुमान गर्न सकिने उनको भनाइ छ ।

मंगलबारदेखिको निरन्तर वर्षाले देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । निरन्तरको वर्षाले बुटवलको तिनाउ, बारा र रौतहटको लालबकैया नदी आसपासका बस्तीका बासिन्दालाई सचेत हुन सूचना दिइएको छ ।

कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र चुरे क्षेत्रहुँदै बहने प्रदेश १, २ र ५ का नदीमा शुक्रबार पनि बाढीको जोखिम रहेको छ ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ