आरतीको हत्या आरोपमा सिरहाका यादव पक्राउ, ५ वर्षपछि खुल्यो पोल


काठमाडौं : ललितपुरमा ५ वर्ष अगाडी भएको आरती परियार हत्या काण्डमा सिरहाका एक ब्यक्ति पक्राउ परेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेले फैडोल सामुदायिक वनमा २६ वर्षीया आरती परियारको हत्या भ एको थियो । सुनसरीको इटहरी नगरपालिका ४ घर भइ ललितपुरको चापागाउँ बस्दै आएकी थिइन् परियार । उनको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सिरहाका रविकुमार यादवलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले यादवलाई पक्राउ गरेको छ । महाशाखाका एसएसपी दिपक थापाले
२६ वर्षीया परियारको अवैध सम्बन्धका कारण विभत्स हत्या भएको र हत्यामा यादवको संलग्नता देखिएको बताए ।

उनका अनुसार परियारले एक व्यक्तिसँग विवाह गरेपछि यादव र परियारबीच मनमुटाव सुरु भएको थियो । तर, विवाह गर्ने व्यक्ति वैदेशिक रोजगारीमा गएपछि परियारको यादवसँग भेटघाट हुन थालेको र नियमितजसो अवैध सम्बन्ध हुने गरेको खुलेको छ । त्यसक्रममा सिराहाको एउटै गाउँमा घर भएका यादव र ती व्यक्तिबीच पनि विवाद भएको हुनसक्छ ।

परियारको तेस्रो व्यक्तिसँग पनि सम्बन्ध रहेको देखिएपछि दुवै जनाले मिलेर उनलाई घाँटीमा खुकुरी प्रहार गरेर १५ वैशाख २०७२ मा हत्या गरिएको हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

तत्कालीन अनुसन्धान अधिकृतहरूले तयार पारेको अनुसन्धान प्रतिवेदनमा पनि पछिल्लो पटक जीवित देखिँदा परियार यादव र आफ्नाासँग जंगलतिर गएको प्रत्यक्षदर्शीले बयान दिए । फर्किँदा भने युवती साथमा नभएको भनिएको छ ।

घटनालगत्तै युवतीको शव पहिचान हुननसकेकाले अनुसन्धानले गति लिन सकेको थिएन । शव सनाखत हुँदासम्म दुवै जना भागेर भारत पुगिसकेका थिए । भारतमा गएर यादव बैंलोरमा बसे पनि अर्का व्यक्ति भने त्यहीँबाट कतार गएका थिए ।

हाल पनि विदेशमै रहेकाले उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मार्फत खोजी गरिदिन अपराध महाशाखाले नेश्नल सेन्ट्रल ब्युरो (एनसीबी), काठमाडौंलाई अनुरोध गरेको थियो । त्यसको आधारमा इन्टरपोलले ती व्यक्तिविरुद्ध रेड कर्नर नोटिस जारी गरिसकेको छ ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार ०९:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ