अब एसिड छ्यापेमा २० वर्ष कैद र १० लाख जरिवाना !


काठमाडौं : अब एसिड छयाप्ने व्यक्तिलाई २० वर्ष कैद र १० लाख रुपैया जरिवाना हुने भएको छ । एसिड सम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले मन्त्रिपरिषद्बाट अध्यादेश पारित गरेको हो ।

एसिडबाट हुने अपराध सम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको कानुन, न्याय तथा संसदीय मन्त्रालयले जनाएको छ ।

अध्यादेश आज नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भई राजपत्रमा प्रकाशित गरिने मन्त्री शिवमाया तुङ्बाहाम्फे बताइन् ।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।  

पछिल्लो समय एसिड आक्रमणका घटना बढिरहेकाले यसको नियन्त्रणका लागि तेजावसम्बन्धी अध्यादेश पारित गरिएको छ । केहिदिन अगाडी प्रधानमन्त्री केपी ओलीले एसिड आक्रमणकारीलाई कडा कारबाही हुनेखालको कानुन बनाउन निर्देशन दिएको थियो ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ