धनुषामा बलात्कृत किशोरीलाई १२ लाख लिएर मिल्न धम्की दिने पक्राउ


टुडेखोज, जनकपुरधाम : बलात्कृत किशोरीलाई १२ लाख रुपैया लिएर मिल्न दबाब दिने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका २ धर्मपुरका सत्यनारायण यादव पक्राउ परेका हुन् ।

पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले मार्ने धम्की दिएकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । यादवलाई शनिबार बिहान पक्राउ गरि अनुसन्धान अगाडी बढाएको उनको भनाई छ ।

धनुषा, सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उनको बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका २ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा यादवले पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएको र नमाने मार्ने धम्की दिएको थियो ।

गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुबा र आमलाई यादबले पैसा लिएर घटना मिलाउन दबाब दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादबलाई अहिले ईलाका प्रहरी कार्यालय धनुषाधाममा राखिएको छ ।

धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेरेर किशोरीलाई बलात्कार गरेको थियो । उक्त घटनामा संलग्न ८ जनामाथि प्रहरीले मुद्दा चलाएको छ ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १२:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ