धनुषा : सेटिङमा रिपोर्ट परिवर्तन गरी बलात्कारीलाई छाड्ने प्रयास !


किसन साह, जनकपुरधाम : बलात्कारीलाई रिहा गर्न रिपोर्ट नै परिवर्तन गरिएको धनुषाका बलात्कृत एक बालिकाको बुवाले आरोप लगाएका छन् ।

रिपोर्ट परिवर्तन गरी बलात्कारीलाई छाड्न लागेको थाहा पाएपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ का एक व्यक्ति सरकारी कार्यालय पुगेका थिए । उनका १४ वर्षीया छोरीको १८ महिना अगाडी बलात्कृत भएकी थिइन् ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्थानीय राजकुमार साह अहिले थुनामा छन् । तर साह रिहा हुन लागेको थाहा पाएपछि बलात्कृत बालिकाको बुवा त्रसित बनेका छन् । रिहा भएपछि ज्यान मार्ने धम्की आफुलाई दिएको उनको भनाई छ ।

जनकपुरस्थित सरकारी वकिलको कार्यालयमा आज भेटेका ति व्यक्तिले भने, ‘मेरो छोरीको बलात्कार भएलगत्तै स्वास्थ्य परीक्षण गराइएको थियो । त्यतिबेला रिपोर्ट मिलेको थियो अर्थात बलात्कार साहले नै गरेको पुष्टि भएको थियो । तर अहिले रिपोर्ट नै परिवर्तन गरेर उनलाई रिहा गर्ने षड्यन्त्र भएको छ ।’

उनले प्रशासन र स्वास्थ्यकर्मीको सेटिङमा रिपोर्ट परिवर्तन भएको दावी समेत गरेका छन् । फुलगामाका राजकुमार भण्डारी र पक्राउ परेका साहका बुवाले आफुलाई धम्की दिने गरेको गुनासो गरे । रिपोर्ट मिलेन र साह रिहा हुँदैछ भनेर पटक पटक धम्काइरहेको उनको भनाई छ ।

उनले मुख्यमन्त्री लालबाबु राउतमाथि समेत आक्रोस पोखे । आक्रोसित हुँदै उनले भने, ‘बेटी असुरक्षित बन्दै गएको छ । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ झुठो नारा लगाइरहेका छन् ।’ उनले नेताहरुले बलात्कारी रिहा नहुने आश्वासन दिएपनि पहल कसैले नगरिदिएको पनि दुःखेसो पोखे ।

रिपोर्ट परिवर्तन गरेर बलात्कारी छाड्न लागेको थाहा पाएपछि पीडित परिवारसँगै स्थानीय महिला र महिला अधिकारकर्मीहरु समेत सरकारी वकिलको कार्यालय पुगेको थियो । उनीहरुले बलात्कारीलाई नछाड्न सरकारी वकिलसँग हारगुहार मागेका छन् ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १४:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ