सिरहामा खुल्यो विद्यालय : एउटा डेस्कमा एउटै विद्यार्थी राखेर पठनपाठन


सुरेश राय, सिरहा : कोरोनाका कारण विगत ६ महिनादेखि बन्द रहेको सिरहाका अधिकांश सामुदायिक तथा नीजि विद्यालयहरु आजबाट खुलेको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी सिरहाको मिर्चैया नगरपालीका, गोलबजार नगरपालिका र लक्ष्मीपुर पातारी गाउँपालिका लगायतका स्थानीय तहमा सामुदायिक तथा नीजि विद्यालयहरु संचालनमा आएको हो । कोरोनाको सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन स्थानीय तहको निर्णयअनुसार नियमित सञ्चालनमा आएको छ ।

पालीकाको शिक्षा साखाहरुले सूचना जारी गरी विद्यालयमै सामाजिक दुरी कायम गरी स्वास्थ्य सतर्कता अपनाएर कक्षा संचालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको मिर्चैया नपाका शिक्षा शाखाका स्रोत व्यक्ति श्याम कुमार यादवले जानकारी दिए । उनका अनुसार एउटा डेस्कमा एउटा विद्यार्थीलाई मात्र राख्न भनिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्था बमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेको छ ।विद्यार्थीले विद्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाएको र सामाजिक दूरी कायम गरेको हुनुपर्छ । साथै दुई सिफ्टमा पठन पाठन सञ्चालन गरिदैछ ।

मिर्चैया नगरपालिकाले लकडाउनको अवधि भरको शुल्क नलिन नीजि विद्यालयलाई भनेको छ । विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक विद्यार्थीलाई मात्र बस्न दिन र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन विद्यालयहरुले नियम बनाएको छ ।

सिरहामा समूदायिक ४२३ र नीजि करिब ३ सय विद्यार्थी रहेको छ ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १५:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ