जनकपुर : मापदण्ड लत्याएर पानी उधोग संचालन, केहिलाई कारबाही


जनकपुरधाम : धनुषामा खुलेका पानी उधोगहरु मापदण्ड विपरित रहेको पाइएको छ । आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरसहितका सरोकारबला निकायले आइतबार अनुगमन गर्दा पानी उधोगहरु मापदण्ड विपरित रहेको खुलेको छ ।

जनकपुरधाम उपमहानगर १९ स्थित जयप्रकाश साहले सञ्चालन गरेको लक्ष्मी ड्रिकिङ पानी उद्योगमा सबैभन्दा बढी कमजोरी पाइएको छ । खाद्य निरीक्षक प्रविन तिवारीका अनुसार यो उद्योगमा लेवल विवरण अपूर्ण रहेको, सरसफाई पुर्वाधार नरहेको, भण्डारण कक्षको व्यवस्थापन नभएको र बोतल व्यवस्थित नभएको लगायतका कमजोरी भेटिएको छ ।

खाद्य निरीक्षक तिवारीले उद्योग सञ्चालक साहलाई सात दिने अल्टिमेटम दिँदै सुधार गर्न निर्देशन दिएको छ । पानीको बोतलमा उत्पादन मिति र म्याद सक्ने मिति उल्लेख नरहेको भन्दै पानी विक्रि वितरणमा प्रतिबन्ध लगाएको छ । अल्टिमेटमको अवधिमा उद्योगका कमजोरी सुधार गरी सञ्चालकलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

उद्योगलाई दिइएको समयमा सुधार नभए कारवाही प्रकृयामा जाने खाद्य निरीक्षक तिवारीको भनाई छ । जनकपुरकै गुरु ड्रिकिङ वाटरमासमेत केही कमजोरी देखा परेका छन् । विक्रम मण्डल सञ्चालक रहेको पानी उद्योगमा सरसफाई गरी निर्देशिका अनुसार पानी उत्पादन एवं विक्रि वितरण गर्न सुझाएको छ ।

यस्तै, जनकपुरधाम १४ स्थित सञ्चालन रहेको डेलि फ्रेस वाटर खाद्य निर्देशिका विपरीत सञ्चालन रहेको पाइएको हो । उद्योगमा सरसफाई नरहेको, निर्देशिका विपरीत रहेको र लेवल विवरण अपूर्ण रहेको देखिएको छ । कार्यालयले उद्योगको पानी विक्रि वितरणमा रोक लगाई आवश्यक मापदण्ड पुरा गरी सम्पूर्ण कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

जनकपुरधाम ८ स्थित बेचन यादवले सञ्चालन गरेको एभेरेष्ट मिनरल वाटरमासमेत कमी कमजोरी पाइएको छ । उद्योगबाट उत्पादित पानी विक्रि वितरणमा रोक लगाई मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ । यस्तै, जनकपुरधाम–५ स्थित विशाल साह सञ्चालक रहेको साकम्बरी निर्मल जलमा लेबल विवरण उल्लेख नरहेको पाइएको छ । कार्यालयले उद्योगलाई सुधार गर्न सुझाएको छ ।

यस्तै मिथिला विहारी नगरपालिका ठेरा स्थित सञ्चालन रहेको बलाजि ड्रिकिङ वाटरमा सम्पूर्ण मापदण्ड पुगेको पाइएको हो । अनुगमनमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका रत्नकान्त झा, जनपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासे लगायत प्रहरी प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ