समाजवाद स्थापनामा अनुकरणीय स्थानीय अभ्यास, एक वडाध्यक्षको सपना सार्थक !


  • अर्जुन थपलिया

नेपालको संविधान २०७२ जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र कार्यान्वयन गर्न जनप्रतिनिधिमूलक शासन व्यवस्थाको शुरुवात भयोे । पहिलो चरणमा नै स्थानीय तहको निर्वाचन भयो । २० वर्षसम्म नोकरशाहीले चलाएको स्थानीय निकायको वेथितिले जनता आजित थिए । नयाँ संविधान अनुसार नवनिर्वाचित जनप्रतिनिधिले विकास र सुशासन देलान् भन्ने जनताको अपेक्षा चुलिनु स्वभाविक थियो । तर स्थानीय तहले विकास र सुशासनको प्रत्याभूति गराउन नसकेको आम गुनासो र असन्तोष व्याप्त छ ।

स्थानीय तह चाहार्दै जाँदा घनघोर निराशा बाँड्ने विष्मयकारी तथ्य र सूचनाभन्दा पृथक एउटा आशा जगाउने दीपशिखा प्रज्ज्वलित भएको देखियो । गोलबजार नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष धनप्रसाद लामाको चिन्तनधारा र कार्यशैलीले जमिनस्तरका जनताको भलो गर्ने विकास योजना कार्यान्वयन गर्न लागेको भेटियो । वडाध्यक्ष लामाको विकास योजना आवारा पूजीँवादी शैलीको बजार हावी भएको र हुनेखाने वर्गको पक्षपोषण गर्ने विकास पद्धतिभन्दा फरक छ । लामाले सामाजिक न्यायमुखी विकास योजना अघि सारेका छन् । अन्य स्थानीय तहका लागि पनि प्रेरणा दिने र अनुसरण गर्न मिल्ने वडाध्यक्ष लामाको सोचलाई प्रसार गर्ने हेतुले यो आलेखमा लिपिबद्ध गरिएको छ ।

गरिब दलितलाई भूस्वामित्व

गोलबजार नगरपालिका वडा नम्बर ३ मा सरकारी स्वामित्वमा रहेको आठ सय पचहत्तर बिघा ऐलानी पर्ती जग्गा छ । यसमध्ये १ सय ६० बिघा ऐलानी पर्ती जग्गाको एउटै चक्ला छ । वडा कार्यालयले मालपोत र नापी शाखासँग समन्वय गरी जग्गाको लगत संकलन गरेको छ । वडामा दलित, गरिब तथा सुकुम्वासी (खास गरी मुसहर समुदायको) बाक्लो वस्ती छ । भूमिपतिहरुको जग्गामा कृषि मजदुरको रुपमा काम गरेर जीवन निर्वाह गर्दै आएका दलित, गरिब तथा सुकुम्बासीहरुले कुनै राजनीतिक व्यवस्थामा पनि सामाजिक न्यायको अनुभूति गर्न नपाएको गुनासो छ ।

यो अवस्थालाई हेर्दा वडाध्यक्ष लामाले ऐलानी पर्ती जग्गा दलित, गरिब तथा सुकुम्बासीलाई बाँड्ने योजना कार्यान्वयन गर्न लाग्नुभएको छ । वडा कार्यालयको यो विशेष योजनामा गोलबजार नगरपालिकाको पनि सम्मति र सहयोग छ । पहिलो चरणमा १ सय ६० बिघा जमिन दलित, गरिब तथा सुकुम्बासीलाई वितरण गर्ने र उनीहरुलाई सामूहिक खेती गर्न बिउबिजन, मलखाद र अन्य कृषि ज्यावल तथा औजार उपलब्ध गराउन बजेट समेत विनियोजन गरिएको छ ।

वडाध्यक्ष लामा भन्छन्, ‘अब दर्शनले देश बनाउने बेला आयो । सोंचेको सपना साकार बनाउने समय भयो । परपरका पात्र पर्खेर होइन गाउँठाउँको माया गर्ने र जनताको दैलो देख्नेबाटै जनवस्तीमा हर्षको ज्योति बाल्ने स्थानीय नेताको युग आयो । उत्पादनका साधन भूमिमा पहुँच वृद्धि गरेर कृषि मजदुरको जीवन उकास्ने हो ।’

वडाध्यक्ष लामाले समग्र ८ सय पचहत्तर बिघा ऐलानी पर्ती जग्गा नै दलित गरिब तथा सुकुम्बासीलाई बाँड्ने र सामूहिक खेती गराई वडा नम्बर ३ लाई विशेष कृषि क्षेत्र बनाउने दूरगामी योजना बनाउनु भएको छ । वडाध्यक्षको लामाले नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समाजवादको कार्यान्वयन स्थानीय तहबाट पनि हुन सक्छ भन्ने सपना देख्नुभएको छ । भूमिमाथि दलित, गरिब तथा सुकुम्बासीको पहुँच वृद्धिमार्फत सामाजिक न्यायको प्रत्याभूति गराउन सकिन्छ भन्ने उनको ठहर छ । स्थानीयलाई रोजगारी दिने गरी कोही उद्योग खोल्न इच्छुक छ भने केही जमिन उद्योगलाई दिने वडाध्यक्ष लामाको प्रस्ताव छ ।

बौद्धिक व्यक्तित्वले पनि वडाध्यक्ष लामाको सामाजिक न्यायमुखी योजनाको सरहाना गरेका छन् । रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसका उप प्रध्यापक प्रदीप साह भन्नुहुन्छ, ‘उत्पादनको साधन गरिबको हातमा नपु¥याई जमिनस्तरका जनताको जीवन फेरिँदैन । दलित, गरिब तथा सुकुम्बासीको हकमा भूमि वितरण संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थक कार्यान्वयन हो । वडाध्यक्ष धनप्रसाद लामाको कदम स्राहनीय छ ।’

सामाजिक न्यायको प्रत्याभूति

वडाध्यक्ष लामाको दूरदर्शी र सामाजिक न्यायमुखी विकास अभियानमा गोलबजार नगरपालिकाले पनि सघाएको छ । दलित तथा गरिबका लागि आवास भवन निर्माण भएको छ । ऐलानी पर्ती जग्गामा ५५ कोठाको १५ वटा घर निर्माण भएको छ । खानेपानी , बिजुली र कम्पाउण्ड वालसहित बनाइएको नमूना दलित बस्ती ३० परिवारलाई हस्तान्तर गरिनेछ ।

घर–घरमा स्वच्छ खानेपानी

चुरे पर्वतको काखमा अवस्थित गोलबजार नगरपालिका वडा नम्बर ३ को गाउँ–टोलहरु जरुवा, चोरपाने,बुढाथोकी टोल, जमदह, बुढी जमदह, दमार, पुराण्डी,गोला मुक्सार ,मुसहर्निया थापा टोल, जमनटोकी , निपनियाँ र तेतरियामा खानेपानीको हाहाकार थियो । भूमिगत जल सतह पताल भासिएर भएभरका ट्युववेल, इनार र कुवा सुक्यो । ३ किलोमिटरसम्म टाढा गएर खानेपानी ओसार्नु पर्ने बाध्यता थियो । विवाह गर्न केटी माग्न जाँदा जमदह मुसहर्निया गाउँमा पानीको दुःख छ भन्दै छोरी दिन नमानेको स्वयम् वडाध्यक्ष लामाको अनुभव छ ।

वडाध्यक्ष लामा निर्वाचित भएर आएपछि पहिलो प्राथमिकता खानेपानी योजनालाई दिनुभयो । स्यालो बोरिङ, पावरड्रिल बोरिङ र नयाँ इनार तथा ट्युवेल जडान गरियो । टोलटोलमा सा–साना ओभरहेड ट्ंयाकी निर्माण गरियो । पाइपलाइन ओछ्याएर ३–४ घरको बीचमा एउटा धारा जडान गरिएको छ । खानेपानीको वोरिङ सञ्चालन गर्न विद्युतीकरण गरियो । विद्युत मिटर र पानी तान्ने मोटर जडान गरियो । सिंँचाइका लागि जडान भएका डिप बोरिङबाट पनि खानेपानी आपूर्ति गराइयो । अहिले वडाका हरेक घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । खानेपानीको हाहाकारको स्थिति अन्त्य भएको छ । खानेपानी समस्याको दीर्घकालीन र स्थायी समाधानको लागि संघीय सरकारको बजेटबाट ओभरहेड ट्ंयाकी पनि निर्माण भइरहेको छ । वडा नम्बर ३ मा घर–घरमा शौचालय निर्माण भएको छ र खुला दिसामुक्त छ ।

घर अगाडि मोटर बाटो

गोलबजार नगरपालिकाको वडा नम्बर ३ नगरभित्रको विकट क्षेत्र हो । चुरेसँग जोडिएकोले नदी, खोल्साखोल्सी, वन बुट्यान र डाँडाकाँडा भूभाग छ । फराकिलो सडक थिएन । साँघुरा गोरेटो र खाल्टाखुल्टी भएको हिलाम्मे कच्ची सडकमा आवतजावत गर्न निकै सकस हुनथ्यो । वडाध्यक्ष लामाले सडक निर्माणलाई पनि मुख्य प्राथमिकतामा राख्नुभयो । गोलबजार शहरदेखि मुसहर्निया गाउँसम्म संघीय सरकारको सहयोगमा नगरस्तरीय योजना अन्तर्गत कालोपत्रे गरिएको छ । चुरेमा रहेको दमार र पुराण्डी गाउँ जाने सडक फराकिलो बनाइयो र ग्राभेल गरियो । थापा टोलसम्म पुग्ने बाटो आरसिसी ढलान भएको छ ।

निपनियाँ गाउँको सडक पनि फराकिलो र ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ । जमदह, बुढी जमदह, चोरपाने जरुवासम्म सडक स्तरोन्नति गरिएको छ । गोला मुक्सार जाने सडक स्तरोन्नति गरियो । जमनटोकी गाउमा कालोपत्रे सडक निर्माण भयो । ६० वर्ष नाघ्नु भएकी सीता श्रेष्ठले भन्नुभयो बुढ्यौैली उमेरमा घर अगाडिको बाटो कालोपत्रे भएको देख्न पाइयो । हामी खुशी छौ ।

वडाध्यक्ष लामा भन्नुहुन्छ, ‘वडा नम्बर ३ को हरेक टोलसम्म मोटर पुग्छ । अपवाद बाहेक वडा नम्बर ३ का हरेक घर सडकसँग जोडिएका छन् । ’ त्यसैगरी भरतीय सीमासंग जोडिएको लगडी गदियानी–गोलबजार मुसहर्निया सडकलाई मध्य पहाडी लोकमार्गसंग जोड्न चोरपानेबाट चुरेमा ट्रयाक खन्ने कार्य आरम्भ भएको छ । यो बाटो बनेपछि वडा नं.३ लगायत सम्पूर्ण गोलबजार नगरसँग उदयपुर, खोटाङ,ओखलढुंगा र सोलु जिल्ला जोडिने छ । उद्योग, व्यापार र कृषि उपज निर्यातमा टेवा पुग्ने वडाध्यक्ष लामाको दाबी छ ।

शैक्षिक उन्नयन

वडा नम्बर ३ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयलाई भौतिक सुविधा सम्पन्न पारिएको छ । नयाँ भवन, रंग रोगन, बाउण्ड्री वाल,फर्निचर र वृक्षरोपणले विद्यालय परिसर सजिसजाउ झकिझकाउ देखिन्छ । विद्यालयमा तीन वर्षे भेटेनिररी डिप्लोमा कार्यक्रम सञ्चालन भएको छ । पहिलो र दोस्रो वर्ष गरी ६८ जना विद्यार्थीहरु पशु विज्ञान पढदै छन् । विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तरमा सुधार ल्याइएको कारण बोर्डिङ्ग स्कूल छाडेर विद्यार्थी यस सामुदायिक विद्यालयमा फर्किएका छन् ।

विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह भन्नुहुन्छ, ‘गोलबजार नगरपालिका र वडा नं. ३ का वडाध्यक्षले हरेक आर्थिक वर्षमा विद्यालयको लागि येथेष्ट बजेट दिनुभएको छ । विद्यालय भौतिक सुविधा सम्पन्न बन्दैछ र शैक्षिक गुणस्तरमा पनि उल्लेख्य सुधार भएको छ ।’

त्यसैगरी आधारभूत विद्यालय गोला मुक्सार र जरुवाको भवन र बाउण्ड्री वाल निर्माण गरिएको छ । निपनियाँको दलित मुसहर वस्तीका बालबालिकालाई लक्षित गरी एक नयाँ आधारभूत विद्यालयको स्थापना गरिएको छ । मुसहर्निया गाउँमा अर्को एक आधारभूत विद्यालय स्थापनाको तयारी गरिएको छ । वडा नम्बर ३ मै कृषि क्याम्पस खोल्ने योजना बनाइएको छ । त्यसका लागि ११ बिघा जग्गाको एक प्लट उपलब्ध गराउने निर्णय गरिएको छ ।

शिक्षकविहिन आधारभूत तहको सामुदायिक विद्यालयमा तीन जना स्वयम्सेवक शिक्षक उपलब्ध गराइएको छ । पशु विज्ञान पढ्ने ३ जना विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था मिलाइएको छ । वडा कार्यालयमा ६ हजार पुस्तक सहितको एक पुस्तकालय स्थापना गरिएको छ । वडाध्यक्ष लामा भन्नुहुन्छ, ‘वडा नं. ३ मा शैक्षिक उन्नयन मेरो प्रतिबद्धता थियो र छ ।’

शहरीकरण

जमनटोकी गाउँ नजिक सातपत्रे नदीको किनारमा रहेको सार्वजनिक जग्गामा एक सिटी हल निर्माण गर्न डिपिआर तयार भएको छ । थप जग्गा व्यवस्थापनका लागि अधिग्रहण र मुआब्जाको व्यवस्था मिलाइएको छ । सिटी हल निर्माण भएपछि वडा नं. २ र ३ को क्षेत्रमा शहर विस्तार हुने वडाध्यक्ष लामाको भनाइ छ ।

सामाजिक सुरक्षा

वडा नं. ३ मा दलित गरिबका लागि उपचार गर्न एम्बुलेन्स सेवाको शुल्कमा ५० प्रतिशत वडाले बेहोर्ने भएको छ । किसानका लागि माटो परीक्षण सेवा उपलब्ध गराइने वडाध्यक्ष लामाको प्रतिबद्धता छ । सामूहिक खेतीमा बिउ, खादमल तथा स्प्रेयरमा ५० प्रतिशत अनुदान दिने नीति लिइएको छ ।

प्रकृति र सम्पदा संरक्षण तथा पर्यटन विकास

वडाध्यक्ष लामाले प्रकृति र धार्मिक सम्पदाको संरक्षणमार्फत पर्यटन उद्यमलाई वडामा फलाउने फुलाउने जमर्को गर्नुभएको छ । मुसहर्निया गाउँमा बुद्ध प्रतिमासहितको बुद्ध तालको निर्माण योजना अघि बढेको छ । वनभोज स्थल र बालबालिकाको लागि उद्यान निर्माण पनि सँगसँगै अघि बढाइने भएको छ ।


मुसहर्निया गाउँमा साढे चार करोडको लागतमा निर्माणाधीन बौद्ध गुम्बामा वडाको तर्फबाट बजेट उपलब्ध गराइएको छ । बुद्ध तालले भूमिगत जलसतह पुनर्भरणमा पनि सघाउने र प्रकृतिको संरक्षणमा टेवा पुग्ने बताइएको छ । स्थानीय बुद्धिजीवी तथा समाजसेवी पुष्पलाल पाख्रिन भन्नुहुन्छ, ‘बौद्ध गुम्बाका लागि वडाबाट साढे १३ लाख बजेट उपलब्ध गराइएको छ ।’ गुम्बा निर्माणमा वडाध्यक्ष लामाले शुभेच्छासहित आवश्यक सहयोग गर्नुभएको छ ।

स्तरीय स्वास्थ्य सेवाको उपलब्धता

वडा नम्बर ३ स्थित स्वास्थ्य चौकी भवन अपायक पर्ने स्थानमा रहेकोले सेवाग्राही सेवा लिन जाँदैनन् । वडाध्यक्ष लामाको विशेष पहलमा स्थानीय प्रेमबहादुर स्याङ्वाले सुगम स्थानमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण गर्न ७ कट्ठा जग्गा दान दिनुभएको छ । यस जग्गामा एम्बुलेन्स सेवा र बर्थिङ्ग सेन्टरसहितको नयाँ स्वास्थ्य चौकी भवन निर्माण यसै वर्ष शुरु हुने वडाध्यक्ष लामाको भनाइ छ ।

वामपन्थी ज्ञान र आचार व्यवहारमा खारिएका वडाध्यक्ष धनप्रसाद लामा सिद्धान्तप्रति निष्ठा राख्ने र स्वच्छ छविका युवा नेताका रुपमा चिनिनुहुन्छ । वडाका जनप्रतिनिधि लामा वामपन्थी सिद्धान्त र ज्ञान बोकेर घोकेर मात्र बस्ने होइन त्यसलाई सार्थक बनाउन प्रयोगमै लाग्ने र सुनाइएका सपना कल्पना विपना बनाउने कर्मठ व्यक्ति भएको देखिँदैछ । स्थानीय तहमा उहाँको कर्मले गाउँ फेरिँदै छ, जनताको जीवनस्तर उकासिँदै छ । यहाँ देशले खोजेको दृश्य देखिँदै छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ