महोत्तरीमा भारतीय नागरिक नै वडाध्यक्षमा जितेको खुलासा, सिडिओले कारबाही गर्न चाहेनन् !


सुरेन्द्र सिंह/ महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको खुलेको छ । पावर र पैसाको बलमा चौधरीसले नेपाली नागरिकता लिएका छन् ।

वडाध्यक्ष चौधरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको ७ महिना बितिसक्दा पनि छानबिन अगाडी बढेको छैन । स्थानीय हरिषचन्द्र ठाकुरले उनीविरुद्ध ०७६ फाल्गुन ६ मै प्रशासनमा उजुरी हालेका थिए । तर हालसम्म उजुरीमाथि सुनवाई नभएपछि प्रशासनमाथि नै स्थानीयले शंका गर्न थालेका छन् ।

उजुरी परेलगतै ०७६ फाल्गुण ८ मा उनको नाममा जिल्ला प्रशासन कार्यालयले पत्र काट्यो । तर त्यसपछि उनीमाथिको कारबाही प्रक्रिया अगाडी बढेन । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले आफु आएपछि नक्कली नागरिकता विषयमा परेको उजुरीबारे अनुसन्धान अगाडी बढाएको बताए ।

उजुरी परेको ७ महिनामा पनि किन अनुसन्धान अगाडी बढेन् भन्ने जिज्ञासमा उनले भने, ‘म आएलगत्तै उजुरी विषयमा अनुसन्धान थालेको छु । आज फ्लो गर्छु । यदि नक्कली ठहर भएमा कारबाही हुन्छ ।’

रामगोपालपुर नगरपालिका ५ मा वडाध्यक्षमा निर्वाचित चौधरी नेपालमा जन्मेका होइन् । उनी भारत विहारको सितामढी जिल्लाको सिरसिया बजारका स्थायी बासिन्दा हुन् । तर नक्कली कागजात पेश गरेर नागरिकता प्राप्त गरेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रण उमेदवारी दिएर वडाध्यक्षमा चौधरी निर्वाचित भए । उनी भारतीय नागरिक रहेको सबै प्रमाण रामगोपालपुरका ठाकुरले दिएको उजुरीमा चौधरीको भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा रहेको फोटोसहितको प्रमाण पेश गरेका छन् ।

भारतीय मतदाता नामावलीमा वडा अध्यक्षको नाम जितेन्द्र चौधरी र उनको बुबाको नाम हीरा चौधरी उल्लेख छ । नेपाली नागरिकतामा वडा अध्यक्षको बुबाको नाम हीराबाट परिवर्तन गरेर अनिल चौधरी बनाएको छ । उनको बुबा र वडा अध्यक्षले सन् २०१९ मा भारतीय लोकसभा निर्वाचनमा मतदान समेत गरेको उजुरीकर्ता ठाकुरको दावी छ ।

वडाध्यक्ष चौधरी आफु नेपाली नागरिक भएको दावी गरेका छन् । उनले भने, ‘मेरो विषयमा अनेक टिकाटिप्पणी भइरहेको छ । तर म नेपाली नागरिक हुँ ।’

उनले आफुसँग भारतको नागरिकता नरहेको दावी गरे । ‘म यदि भारतीय नागरिक हुँ भने बैंकमा खाता होला । भारतको आधार कार्ड होला । उजुरी परेकै छ । अनुसन्धानबाट स्पष्ट भइरहाल्छ नी । आरोप लगाएर हुन्छ ?’

प्रकाशित : २०७७ आश्विन १२, सोमबार १५:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ