चीनद्वारा अतिक्रमित नेपाली भूमिबारे सरकारी अभिव्यक्तिप्रति निधिको आपत्ति


टुडेखोज, काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा सरकारले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

छानबिन नै नगरी नेपाली भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति उपसभापति निधीले गम्भीर आपत्ति जनाएका हुन् । उनले भने, ‘हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित भूमि नेपालकै हो भनेर दावी गरेका छन् । तर सरकारले त्यसको वास्ता नै नगरी अभिव्यक्ति दिएको छ । यसमा मेरो आपत्ति छ ।’

नेपाली भूमि चीनले अतिक्रमण गरेको बिषयमा बिबाद भइरहेका बेला चीनका लागि नेपाली राजदूतले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाएका छन् ।

‘चिनियाँ शासन व्यबस्था अबलम्बन गर्नका लागि राजदूत पठाएको छैन’, निधिले प्रश्न गरे, ‘जननिर्वाचित संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो ?’

शहिद स्मृति प्रतिष्ठानद्वारा मंगलबार आयोजित शहिदको बलिदान र वर्तमान राजनीतिक परिवेश विषयक जुम बैठकको सम्बोधनमा उनले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण वर्तमान राजनीतिक प्रणालीमाथि खतरा उत्पन्न जिकिर समेत गरे ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ