शहिदनगर : ‘लोन्डा डान्स’ बन्द गराउन गएका प्रहरीमाथि ढुङ्गामुढा


टुडेखोज, जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका २ मतौनामा ‘लोन्डा डान्स’ बन्द गराउन पुगेका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन् ।

स्थानीयको ढुङ्गामुढाबाट दर्जनौं सुरक्षाकर्मीलाई चोटपटक लागेको छ । डान्स कार्यक्रम रोक्न यदुकोहाबाट नेपाल र सशस्त्र प्रहरीको टोली पुगेको थियो । कार्यक्रम भइरहेको स्थलमा पुग्ने वित्तिकै स्थानीयले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय यदुकोहाका इन्सपेक्टर संबित भण्डारीले बताए ।

उनले भने, ‘स्थानीयको ढुङ्गामुढाबाट घाईते नै त भएको छैन । तर धेरै प्रहरीलाई चोटपटक लागेको छ ।’ उनले अवस्था झन नबिग्रियोस् भनेर साउण्ड सिस्टम नियन्त्रणमा लिएको बताए ।

कार्यक्रम कसले गराउन खोजेको थियो भन्ने विषयमा केहि खुल्न नसकेको इन्सपेक्टर भण्डारीले बताए । अनुसन्धान गरिरहेको उनको भनाई छ ।

धनुषा प्रशासनले शान्ति सुरक्षामा प्रतिकुल असर पार्ने गरेको भन्दै साउण्ड बजाउन प्रतिबन्ध लगाएको छ । कोरोना कारण भिडभाड हुने खालको क्रियाकलापमा पनि जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ ।

तर स्थानीय तहको लापरबाहीका कारण शहिदनगर नगरपालिकामा पटक पटक जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको ठाडो उल्लंघन गर्ने काम भइरहेको छ ।

शहिदनगरमा २ जनाको कोरोनाले ज्यान गएपनि न जनता सचेत बनेका छन्, न त जनप्रतिनिधि जिम्मेवार देखिएका छन ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ