नेपाल–भारत हवाई उडान कार्तिक १ देखि शुरु गर्न प्रस्ताव


काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्तिक १ गतेदेखि भारतका लागि हवाई उडान शुरु गर्न प्रस्ताव गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नसरकारले चैत ११ गते लकडाउन गरेका थिए । सोही दिदेखि भारतमा नियमित उडान भएको छैन । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा मन्त्रालयले भारतका लागि हवाई उडान शुरु गर्न प्रस्ताव पठाएको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए ।

भारतमा रहेका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा घर फर्काउन सक्ने गरी भारतले ‘एयर बबल स्किम’ जारी गरेको छ । सोहीअनुसार भारतमा संसारभरबाट उडान भइरहेको छ । यो स्किम नेपालका लागि समेत खुला छ ।

नेपालले नयाँ दिल्लीस्थित दूतावासको समन्वयमा भारतमा रहेका नेपालीलाई घर फर्काउन सक्ने गरी उडान खोल्न सक्छ । भारतमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण सरकारले भारतका लागि उडान खोल्नेबारे निणर्य लिइसकेको छैन ।

तर, नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो संख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतिक्षामा बसेका छन् । नेपालले भारतको उडानको तयारी गरेको प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले पनि बताए ।

भारतमा उडान खुले पनि नेपाल आउने नागरिकका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अन्य गन्तब्य सरह हुने बताइएको छ । प्रस्तावअनुसार नेपाल आउन चाहने यात्रुसँग बढीमा ७२ घण्टा अगाडीसम्मको पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण हुनुपर्छ ।

यस्तै एउटै जहाजबाट नेगेटिभ र पोजेटिभ रिपोर्ट भएका यात्रु ल्याउन पाइने छैन । त्यसरी आएमा सबै होटेल क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । पीसीआर नेगेटिभ भएका नेपालीको हकमा १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्छ ।

विदेशीको हकमा अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड सरकारले बनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १४:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ