मनसुन सकिन अझै केहिदिन लाग्ने, यस्तो छ आजको मौसम


टुडेखोज, काठमाडौं : बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेकाले अझै सोमबारसम्म नै देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

मनसुन सकिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । तर, बिहीबारदेखि नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ । यद्यपि बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले बाँकी क्षेत्रबाट भने मनसुन बाहिरिन समय लाग्ने महाशाखाको भनाइ छ ।

पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भएपनि केही वर्षयता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको मौसमविद् बताउँछन् ।

यो वर्ष पनि दुईदिन ढिला नेपाल प्रवेश गरेको थियो । बंगालको खाडीमा रहेको प्रणालीकै प्रभावले अहिले पनि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भइरहेको छ ।

यसैबीच आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै तथा बाँकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यस्तै राति पनि देशभरका थोरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ