सरकारले भन्यो- जहाँ छौं, त्यहीँ बसेर यो वर्षको दशैँ मनाऔं


टुडेखोज, काठमाडौं : सरकारले यो वर्षको दसैं जो जहाँ छौं, त्यहीँ बसेर मनाउन अपिल गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै लामो यात्रा नगर्न सरकारले अपिल गरेको हो ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन आग्रह गरे । उनले भने, ‘यसका लागि समन्वय गर्ने सरकारले निर्णय गरेको छ । र त्यहीँ अनुसार सन्देश प्रवाह गर्न भनेको छ ।’

मन्त्रालयले चाडपर्वमा जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र विशेष सतर्कता अपनाउन आग्रह पनि गरेको छ । संघीय राजधानी काठमाडौं कोरोनाको हटस्पट बनिरहेका बेला दशैं मनाउन घर जाने तयारीमा रहेकाहरुलाई सरकारले यस्तो आग्रह गरेको छ ।

प्रवक्ता गौतमले भने, ‘हामीले अनुनय विनय गरिरहेका छौं । जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिरहेका छौं । धेरैले हाम्रो आग्रह मान्‍नु भएको छ । हामीले पटक पटक साबुन पानीले हात धुनुस् भनेका छौं ।’

अब स्वास्थ्यको मापदण्ड पालना नगर्नेलाई जरिवाना गराउने निर्णय पनि गरिएको छ । मास्क नलगाउने तथा अन्य मापदण्ड पालना नगर्नेलाई अबदेखि जरिवाना गर्ने र त्यसको मापदण्ड बनाउन लागेको उनको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन १८, आईतवार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ