सरकारले भन्यो- चाडपर्वमा किनमेलका लागि सीमापारी नजानुस्


टुडेखोज, जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई चाडपर्वमा किनमेलका लागि सीमापारी (भारतको विहार) नजान आग्रह गरेको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् । उनले काठमाडौंलगायतका शहरमा कोरोनाको उच्च जोखिम रहेको भन्दै कोरोनालाई कोसेलीको रुपमा दशैंका बेलामा आफन्तलाई नसार्न आग्रह गरे ।

कोरोना संक्रमणको जोखिम उच्च रहेकाले पुरानै लुगा लगाएर दशैं मनाउन समेत उनले जनतासँग आग्रह गरे । भने, ‘परिवारको सबै सदस्यको स्वास्थ्य सुरक्षाको लागि पुरानै लुगा लगाएर दशैं मनाऔँ ।’

चाडपर्वका बेला सिमापारी किनमेल गर्न सिमा क्षेत्रका अधिकतर व्यक्ति जाने गर्छन् । नेपाली बजारमा भन्दा भारतमा लुगा, चाडपर्वका समान, खाद्यान्न लगायतका समान सस्तो पाइने गरेको भन्दै सिमापारी जाने गर्छन । तर भारत कोरोनाको उच्च जोखिममा छ ।

त्यसैले सरकारले किनमेल गर्न सिमापारी नजान आग्रह गरेको छ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ लिष्ट बनाएर एकैपटक सामान किन्न पनि आग्रह गरेको छ ।

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ