जितपुर सिमराका योजनामा १४ करोड अनियमितता ! भुक्तानी रोकियो


टुडेखोज, बारा : बाराको जितपुर सिमरा उपमहानगरपालिकाले एक महिनामै सम्पन्न गरेको योजनामा व्यापक अनियमितता भएको भन्दै भुक्तानी रोकिएको छ ।

बर्खे योजनाको १४ करोड रुपैयाँ अनियमितता र अपारदर्शी भएको भन्दै भुक्तानी रोकिएको हो । भुक्तानी रोकिएपछि निकासाका लागि विभिन्न राजनीतिक दलका नेताहरुले दबाब दिन थालेका छन् ।

जेठ मसान्तभित्र कार्यान्वयन भइसक्नुपर्ने योजना उपमहानगरले कानुनी व्यवस्थालाई उल्लंघन गरी गत आर्थिक वर्षको असार १५ गतेपछि कार्यादेश दिएको थियो । साउनको तेस्रो सातामा एकैपटक सयौं योजना सम्पन्न गरेको फाइल भुक्तानीका लागि आएपछि प्रमुख प्रशासकीय अधिकृतले अपारदर्शी भएको भन्दै भुक्तानी दिन मानेनन् ।

प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले एकैपटक सयौं सम्पन्न योजनाको तयारी फाइल आफूले नहेरी भुक्तानी नगर्ने अडान लिएका छन् । यता, उपप्रमुख सरस्वती चौधरीले भएका राम्रा कामको भुक्तानी दिनुपर्ने र अपारदर्शी योजनाको भुक्तानी रोक्नुपर्ने बताइन् ।

उपभोक्ताको नाममा अधिकांश योजना ठेकेदार, जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएपछि सबै योजनाको अनुगमन समेत नहुँदा भुक्तानीका लागि फाइल पेस गरेपछि अनियमितता भएको शंका गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार ०९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ