बिजुलीको बिल कहिले तिर्दा कति छुट र जरिवाना लाग्छ ?


काठमाडौं : कोरोना महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अघिल्लो हप्ता नेपाल विद्युत प्राधिकरणलाई बिलम्ब शुल्क नलिन निर्देशन दिए । मन्त्रीको निर्देशनपछि प्राधिकरणले पनि भदौ महिनाको विद्युत महसुल असोज २२ गतेसम्म भुक्तानी गर्दा अतिरिक्त शुल्न नलिने घोषणा गर्‍यो ।

तर भदौ महिनाको बिल अझै नतिरेका ग्राहकले भने शुक्रबार (असोज २३ गते)देखि असोज ३० गतेसम्म महसुल बुझाउँदा थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्नेछ । प्राधिकरणका अनुसार प्रत्येक महिनाको निश्चित गते ग्राहकको मिटर रिडिङ्ग गर्ने दिन तोकिएको हुन्छ ।

सम्बन्धित ग्राहकलाई तोकिएको सो मितिमा मिटर रिडरले बिल उपलब्ध गराउँदछन् । तर अहिले कोरोना महामारीका कारण मिटर रिडर नआएमा वा बिल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी बिल लिनुपर्दछ । यसरी ग्राहकले मिटर रिडिङ्ग हुने दिनसमेत गरि ७ दिनभित्र बिल भुक्तानी गर्दा बिल रकममा २ प्रतिशत छुट पाउँछन् ।

तर मिटर रिडिङ भएको ८ औं दिनदेखि १५ औं दिनसम्म बुझाएमा बिल रकममात्र बुझाए पुग्छ । १६ औं दिनदेखि ३०औं दिनसम्म बुझाएमा ५ प्रतिशत जरिवाना लाग्छ । ३१ औं दिनदेखि ४० औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१ औं दिनदेखि २५ प्रतिशत थप दस्तुर लाग्दछ । मिटर रिडिङ भएको ६० औं दिनभित्र पनि महसुल भुक्तानी नभएमा भने प्राधिकरणले ग्राहकको विद्युत लाइनसमेत काट्न सक्छ ।

विद्युत बिल अग्रिम भुक्तानी पनि गर्न पाईन्छ । यसरी अग्रिम भुक्तानी गर्दा विगतका महिनाको औसत बिल अनुमान गरी बिल भुक्तानी गर्न सकिन्छ । सो बराबरको रकम अनुमान गरी अग्रिम बुझाई सकेपछि विद्युत महसुल अनुसारको बिल हिसाब मिलान गर्दा पनि ग्राहकले २ प्रतिशत छुट दिन्छन् ।

प्राधिकरणका कर्मचारीबाट विद्युत खपत बिल प्राप्त नभएमा ग्राहकले आफ्नो मिटर रिडिङ हुने दिनअनुसार सोझै काउण्टरमा गई पुरानो बिलबाट ग्राहक नम्बर देखाएर विद्युत महसुल पनि भुक्तानी गर्न सक्छन् । ग्राहक स्वयंले मिटर पढन जान्ने र त्यहीअनुसार बिल भुक्तानी गर्ने हो भने समयमा मिटर रिडिङ नहुँदा पनि जरिवाना रकमको झन्झट ब्यहोर्नु पर्दैन ।

मिटर रिड गर्दा ग्राहकले मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पुगेको छ त्यो टिप्नु पर्दछ र त्यसपछि अघिल्लो महिनाको बिलमा भएको भएको रिडिङ अंक राखी प्राधिकरणको वेबसाईटमा गएर पनि कति बिल तिर्नुपर्ने हो सो रकम यकिन गर्न सकिन्छ ।

  • नेपाल लाइभ
प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार १२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ