जनकपुरको दशैं : कोरोनाका कारण ‘रावण बध’ स्थगित, एकदिन मात्र मन्दिरमा आउन अपिल


किसन साह, जनकपुरधाम : हरेक वर्ष जनकपुरमा दशैंको विशेष रौनक हुन्छ । तर यसवर्ष भने जनकपुरको दशैं पुजा पनि कोरोना भाइरसका कारण प्रभावित हुने देखिन्छ । जिल्ला प्रशासन कार्यालयले त यस वर्ष बोका बली समेत चढाउन नदिने निर्णय गरेको छ ।

तर प्रशासनको सो निर्णयको चौतर्फी विरोध भइरहेको छ । जनकपुरमा दुर्गा पुजाको आयोजना गर्दै आएका महाविर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बोका बढी दिने वा नदिने विषयमा प्रशासनसँग छलफल चलिरहेको बताएका छन् । उनले टुडेखोजसँग भने, ‘यस वर्ष बोका बली चढ्ने वा नचढ्ने कुरा दुई दिनपछि जानकारी गराउँछु । अहिले प्रशासनसँग यस विषयमा छलफल चलिरहेको छ ।’

अध्यक्ष साहले भाकल नगरेको व्यक्तिलाई बोका बली नदिन अनुरोध समेत गरे । उनले कोरोनाका कारण यसवर्ष विगतको भन्दा कम रौनकता रहेने बताए । उनले दशैं अवधिभर मन्दिरमा हुने सांस्कृतिक कार्यक्रम र रावण बध पनि स्थगित गरिएको सुनाए ।

‘महिलाहरुको उपस्थितिमा सप्तमीको दिन हुने आरती पनि यसवर्ष हुने छैन’, उनले भने, ‘विगतका वर्षहरु जस्तो भव्य पण्डाल पनि निर्माण गर्ने योजना छैन । मन्दिरमा सजावट भने पहिले जस्तै गरिनेछ ।’ दशैंमा दश दिन मन्दिर आउनेहरुलाई यसवर्ष एक दिन मात्र आउन उनले अपिल समेत गरे ।

उनका अनुसार कोरोना धेरै खतरनाक भएका कारण धेरै भीडभाड हुन नदिन एक पुजादेखि सात पुजासम्म प्रसाद मात्र चढ्छन् । आठ पुजामा धेरै भीड हुन्छ । त्यो दिन सामाजिक दुरी कायम कसरी गराउन र भीडभाड कसरी हुन नदिने विषयमा छलफल भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार १४:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ