आईपीएल : राजस्थानलाई ४६ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो


आईपीएल टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो ।

टस हारेर ब्याटिङ पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाए । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमाएको थियो । दिल्लीका लागि ओपनर शिखर धवन मात्र ५ रन बनाउन पाए ।

अर्का ओपनर पृथ्वी श १९ रनमा आउट भए । ४२ रनमा दिल्लीको दोस्रो विकेट खेर गयो । यस्तै कप्तान श्रेयस ऐयर पनि २२ रनमै आउट भएपछि दिल्लीको स्कोर ५० रन थियो । त्यसपछि ७९ रन बनाउदासम्म दिल्लीले चौथो विकेट गुमायो ।

रिसव पन्त मात्र ५ रनमा पेभेलियन फर्किए । दिल्लीका लागि मार्कुस स्टोनीसले ३९ रन बनाए । यस्तै सिमरोन हिटमेयरले ४५ रनको योगदान गरे ।

दिल्लीको स्कोर १०९ रन हुँदा पाँचौ विकेट गयो । १४९ रनमा छैठौ‌ँ र १८१ रनमा सातौं विकेट झरेको थियो । उसका लागि अक्सर पटेलले १७ रन र हर्षल पटेलले १६ रनको योगदान गरे ।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । जवाफमा राजस्थान १९ ओभर ४ बलमा १३८ रनमा अलआउट भयो । खराब सुरुवात गरेको राजस्थानले १५ रनमा पहिलो विकेट गुमायो । एक सय रन बनाउँदा सात विकेट खेर फालेको थियो ।

राजस्थानका लागि जोस बट्लरले १३ रन र स्टिभ स्मिथले २४ रनको योगदान गरे । यस्तै यसस्वी जैसवालले ३४ बनाए । राजस्थानका सञ्जु सामसन ५ रनमा आउट भए । महिपाल लोमोरले मात्र एक रन बनाए । एन्र्डु तेई मात्र ६ रन र जोफ्रा आर्चर २ रन लिए ।

राजस्थानका लागि राउल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । जारी लिगमा दिल्लीले ६ खेलमा १० अंक प्राप्त गरेको छ । उसले अहिलेसम्म पाँच खेल जितेको छ । राजस्थानको भने ६ खेलमा चौथो हार हो । उसको मात्र चार अंक छ । उसले अहिलेसम्म दुई खेल मात्र जित्न सकेको छ ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार ०७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ