रामविलास पासवानको विलक्षण राजनीतिक यात्रा


  • राजेश विद्रोही

भारतमा रहेको जातीय छुवाछूत तथा विभेदको विरुद्धमा सन् १९८३ मा दलित सेना गठन गरी भारतको राजनीतिक इतिहासमा आफूलाई फरक ढंगले स्थापित गर्न सफल भारती दलित आन्दोलनको एक हस्ती तथा भारतीय सरकारका क्याबिनेट मन्त्री रामविलास पासवानको बिहिवार निधन भयो ।

कानुनमा स्नातकोत्तर गरेका रामविलास पासवानले सन् १९६९ मा आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका थिए । उनी ९ पटक लोकसेवा आयोगका सदस्य बने । ४० वर्षको राजनीतिक यात्रामा उनी पटक पटक मन्त्री बने । उनले भारतीय दलित आन्दोलनमा गरेको योगदानको प्रभाव नेपालको दलित आन्दोलनमा समेत पर्यो । उनको देहावसानमा भारत र नेपालका दलित अगुवादेखि विभिन्न राजनीतिक दलका नेताहरूले समेत शोक व्यक्त गरेका छन् ।

रामविलास पासवान दलितको नेता मात्र नभएर सिंगो भारतका नेता थिए । उनी नेपाल र भारतको जनताको मन छुने एक सालिन नेताको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेका थिए । उनको चर्चा आज देहावसानमा जति छ, उतिनै चर्चा आफ्नो राजनीतिक जीवनकालमा कमाए । सामन्ती समाज र शासकले अछुतो बनाएको जातको छोरा जब भारतको राजनीतिक आन्दोलनमा तहल्का मच्चाउने काम गरे, त्यसपछि दुनियाँ थर्कमान भए । सबैतिर उसको चर्चा चुलियो । उनलाई नचिन्ने र नसुन्ने कोही पनि छैन् ।

जब उनले दलित सेना गठन गरे र समाजमा रहेका जातीय छुवाछूत प्रथामाथि राजनीतिक प्रहार गर्न थाले त्यसपछि दलितहरू निकै सचेत र जागरुक भए जसको परिणाम भारतमा दलितहरुले थुप्रै राज्यका सेवासुविधाहरु पाए । अहिले पनि दलितहरुलाई हेर्ने दृष्टिकोण हिजो जस्तो थियो । आज त्यस्तो छैन् । बदलाव आएको छ । हतपत कसैले जातीयताकै कारण औंला ठड्याउन सक्दैन ।

भारतमा लोकतन्त्र स्थापना भएको ७९ वर्ष भइसक्यो । सुरुमा त्यहाँ पनि अहिले नेपालमा जस्तै राजनीतिक व्यापारीहरुको हावी थियो । पछि जनता सचेत हुँदै गयो र असल राजनीतिक व्यक्तिहरुलाई जनताले आफ्नो मत दिएर चुनावमा राजनीतिक दलालहरुलाई पराजित गर्दै आए । यतिका वर्ष भइसक्दा पनि भारतको राजनीतिमा अहिले पनि केही त्रुटिहरु छन्, त्यसैले बेलाबेलामा त्यहाँका नागरिकहरु सडकमा उत्रिने गर्छन् । तर, तुलनात्मक हिसाबले हिजोको भारत र आजको भारतमा ठूलो अन्तर पक्कै छ ।

नेपालको दलित आन्दोलनले रामविलास पासवानको योगदानबाट धेरै कुरा सिक्नुपर्ने छ । अहिले नेपालमा चलिरहेको दलित आन्दोलनमन थुप्रै कमीकमजोरीहरु प्रवेश गरिसकेका छन् । यसबाट दलित आन्दोलन दिनानुदिन कम्जोर हुँदै जान्छ । कि त आन्दोलन कमजोर नभए पनि नेतृव र अगुवाहरुको लापरबाहीको कारण तुहिने खतरा बढ्छ । र, मुठीभर व्यक्तिको पोकेटमा आन्दोलन पुग्छ । सिंगो दलित समुदाय र आन्दोलनमाथि ठूलो घात हुन्छ । त्यसैले यसबाट बच्न नेपाली दलित आन्दोलनले पासवानको जीवनबाट पाठ सिक्नै पर्छ ।

अन्त्यमा रामविलास पासवानको भौतिक शरीर हामीसँग नरहेपनि उनका अजर अमर विचारहरु कहिल्यै मर्ने छैन । आत्मसाथ रहिरह्ने छन् । दलित आन्दोलन र मुक्तिको मार्ग कोरेर समाजलाई दिशानिर्देश गर्ने महान मानव तथा युग पुरुषको दुखद निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा धैर्यधारण मिलोस् कामना ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ