कोरोना संक्रमित परीक्षार्थी लोक सेवाको परीक्षा दिन नपाउने


टुडेखोज, काठमाडौं : लोक सेवा आयोगले कोरोना संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।

मापदण्ड अनुसार परीक्षार्थीलाई कोरोना संक्रमण भएको अवस्थामा परीक्षा केन्द्र प्रवेश गर्न नहुने अर्थात् परीक्षा दिन नपाउने भएका छन् । ‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ । संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ मापदण्डको ८ नम्बर विविधमा उल्लेख छ ।

आयोगले असोजदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृत लगायतको विज्ञापन गर्ने तयारीसहित यस्तो मापदण्ड ल्याएको छ । यो मापदण्डका कारण धेरै परीक्षार्थी लोकसेवा आयोगको परीक्षा दिनबाट बञ्चित हुने देखिन्छ ।

एक परीक्षा केन्द्रमा १ सय परीक्षार्थी राख्ने र एउटा कक्षामा बढीमा २५ जना परीक्षार्थी राख्ने गरी व्यवस्थापन मिलाइने आयोगले जनाएको छ । परीक्षार्थी, केन्द्राध्यक्षलगायत सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्ने मापदण्ड पनि बनाएको छ ।

कोरोनाका कारण स्थगित सबै तहका परीक्षा सञ्चालनको तयारीमा आयोग पुगेको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन लिने आयोगले जनाएको छ ।

परीक्षार्थी परीक्षा सुरू हुनु एक घण्टा अघि नै केन्द्रमा पुगि सक्नुपर्ने र मास्क, सेनिटाइजर तथा आफ्नो लागि खानेपानी परीक्षार्थी आफैंले लैजानुपर्नेछ ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार ११:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ