प्रदेश २ की २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा !


धनुषा : प्रदेश २ सरकारको ‘मुख्यमंत्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा पाउने भएको छ ।

छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी थालिएको छ । छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियंका यादवले जानकारी दिइन्‌ ।

गत माघ २ गतेखि यस प्रदेशका १३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो । अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको संयोजक यादवले बताइन्‌ ।

उनका अनुसार महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भइरहेको छ । प्रदेशका सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने बताइएको छ ।

सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्न लागेको छ । महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालनमा छ ।

जसमा छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले ३७ हजार तिरेर तीन लाख रुपैयाँको बीमा गरिदिने व्यवस्था गरिएको छ । उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् ।

शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाख रुपैयाँको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो ।

मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्याङ्क रहेको छ ।

प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो । जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो ।

प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न असोज २१ गते बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बैठकले पुनः छोरी शिक्षा बीमा शुरु गर्ने, प्रभावकारी ढङ्गले अगाडि बढाउने, इन्टरनेट जडान गर्ने लगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिइन्‌ ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १५:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ