‘कृषिमा आधुनिकीकरण प्रविधियुक्त खेतीमा जोड दिनुपर्छ’


ओम प्रकाश साह, जनकपुरधाम : कृषिमा आधुनिकीकरण प्रविधियुक्त खेती आवश्यक रहेको जनकपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाद्वारा आयोजित ‘नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक’मा सहभागी विज्ञहरुले यस्तो बताएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाका प्रमुख युगलकिशोर तिवारीले नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको आधुनिकीकरण, विशिष्टिकरण र औधोगिकीकरण मार्फत समग्र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताए ।

उनले अब आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि क्षेत्रको दीर्घकालीन कृषि विकास रणनीतिको कार्यान्वयनमा जोड दिए । स्थानीय तहमा योजना बनाउँदा बजेट ल्याउँदा कृषिको आधुनिकरण गर्नका लागि बजेट छटुयाउन उनले माग गरे ।

योजना बनाउनु ठूलो कुरा होइन, तर योजनालाई स्थानीय तहमा कार्यान्वयन गर्नु ठूलो हो । नेपाल कृषि प्रधान देश भएपनि कृषि योजनालाई तादरुकताका साथ कार्यान्वयन नभएकै कारण कृषि क्षेत्र बलियो बन्न नसकेको सहभागीहरुले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले कृषिमा राम्रो प्रभाव पार्नेछ । कृषिलाई आधुनिकीकरणका लागि कृषि उपकरणका साथै माटो अनुसार फसल लगाउनु पर्ने सहभागीहरुको भनाई थियो ।

कृषिलाई कसरी नाफा मुलक बनाउने, व्यवसायिकरण गर्ने यी कुरा सबैले बुझ्नुपर्छ मुखियापट्टी मुसहरनियाका प्रशासकिय अधिकृत सुबोध ठाकुरले बताए । उनले भने ‘नगरपालिका स्तरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सफल पार्न पालिकास्तरीय कार्य गर्नुपर्छ ।’

कृषि अधिकृत दीपक कुमार मिश्रले साना व्यवसायी कृषि उत्पादन केन्द्र, ब्लक जोन, सुपरजोन लगायतको विषयमा विस्तृत रुपमा बताएका थिए । जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव वनरैतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ