अब फेस सिल्ड नलगाउनेलाई सार्वजनिक गाडीमा चढ्न नदिने


टुडेखोज, जनकपुरधाम : कोरोनाको संक्रमणको जोखिम बढ्दै गएपछि यातायात व्यवस्था विभागले अब फेस सिल्ड नलगाउने यात्रुलाई सार्वजनिक बसमा यात्रा गर्न नदिने भएको छ ।

विभागले बसमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था गरेको हो । विभागले सोमबार सार्वजनिक सूचना निकाल्दै यात्रुले अनिवार्य रूपमा फेस सिल्ड प्रयोग गरेर मात्र सार्वजनिक यातायातमा प्रयोग गर्न निर्देशन दिए ।

यातायात व्यवसायीहरूलाई फेस सिल्डबिना चढ्न खोज्ने यात्रुलाई सार्वजनिक यातायातमा नचढाउन पनि विभागले निर्देशन दिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले फेस सिल्ड अनिवार्य गरिएको बताए ।

उनले भने, ‘फेस सिल्ड अनिवार्य यात्रुले लगाउनुपर्ने निर्णयमा व्यवसायीहरूको सहमति छ । व्यवसायीहरूले पनि आफ्ना कर्मचारीलाई मास्क, पञ्जा र फेस सिल्ड उपलब्ध गराउने सहमति गरेका छन् ।’

यसअगाडि सरकारले संक्रमणको जोखिम हुने भन्दै सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गरी आधा मात्र यात्रु बोक्न पाउने र मास्क तथा पञ्जा अनिवार्य गरेको थियो । तर आधा यात्रु बोक्ने निर्णयले घाटा भएको भन्दै विरोधमा व्यवसायी उत्रिएपछि सरकारले निर्णय फिर्ता लिइसकेको छ ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ