आज राति उल्का वर्षा हुने, हेर्नका लागि मध्यरातपछिको समय उत्तम !


एजेन्सी : हेलिको पुच्छ्रेताराका कारण आज मृगशिरा उल्का वर्षा हुने भएको छ । पुच्छ्रेताराका कारण वर्षमा दुई पटक उल्का वर्षा हुन्छ ।

हेलिको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारिएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्का वर्षा हुने गर्छ ।

मंगलबारको उल्का वर्षाको स्रोत मृगशिरा तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्का वर्षा नोभेम्बर ७ सम्म सक्रिय रहने छ ।

उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार राति १०ः४५ देखि शुरु भई बिहान ५ः४५ बजेसम्म देख्न सकिन्छ । उल्का वर्षा हेर्नका लागि मध्यरातपछिको समय उत्तम मानिन्छ ।

अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकाले करिब ७० किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने सोसाइटीका अध्यक्ष भट्टराईको भनाई छ ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ