जनताले अहिलेको भष्माशुरी प्रवत्तिबाट उन्मुक्ति चाहेका छन् : पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं : कोरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयबारे पूर्वराजा ज्ञानेन्द्र शाहले कडा टिप्पणी गरेका छन् ।

बिहीबार दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नागरिकको उपचारबाट पन्छिने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । उनले सरकारको रवैयाका कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगेको उल्लेख गरेका छन् ।

‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ’, शाहले दिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ ।’

त्यस्तै उनले अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप समेत लगाएका छन् । यसले गर्दा स्थिर, सुदृढ र सन्तोषजनक परिणाम दिन नसकेको उनको बुझाइ छ ।

‘दैनिक जीविकाको अत्यावश्यक वस्तुको मुल्य बृद्धि अभाव र गुणस्तरीयतामा हास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ,’ सन्देशमा भनिएको छ, ‘अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ। त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुत्ति चाहिरहेका छन् ।’

प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार १९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ