नेकपा कार्यकर्ता मुकेश हत्यामा संलग्न थप एकजना पक्राउ


टुडेखोज, वीरगञ्ज : नेकपा पर्साका कार्यकर्ता मुकेश चौरसिया हत्यामा संलग्न थप एकजना पक्राउ परेका छन् ।

पर्सा विन्दवासिनी गाउँपालिका ४ मधवलका ३२ वर्षीय निरंजन तिवारी उत्तमलाई प्रहरीले पक्राउ गरेको हो । पीडित परिवारले दिएको जाहेरीमा ३४ वर्षीय चौरसियालाई तिवारीले बाँसको भाटा प्रहार गरेको उल्लेख छ ।

आइतबार पक्राउ परेका उनलाई जिप्रका पर्सामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । नेकपाका दुई पक्षबीच भएको झडपमा चौरसिया घाइते भएलगत्तैदेखि तिवारी फरार थिए ।

लुकीछिपी बसेको अवस्थामा प्रहरीले आइतबार उत्तमलाई वीरगञ्ज महानगर वडा नम्बर १६ बाट नियन्त्रणमा लिएको जनाएको छ । यसअघि दुई जना पक्राउ परिसकेका छन् ।

गत कात्तिक ६ गते विन्दवासिनी वडा नम्बर ५ प्रसौनी गाउँमा पार्टी प्रवेश गरेका कार्यकर्तालाई सपथ खुवाउने कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप भएको थियो । झडपमा घाईते चौरसियाको मृत्यु भएको थियो ।

उक्त घटनामा प्रहरीले पीडित पक्षको जाहेरी लिन नमानेपछि सरकारी वकिल कार्यालयबाट १२ जनाविरूद्ध जाहेरी दर्ता भएको छ ।

प्रकाशित : २०७७ कार्तिक १७, सोमबार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ