शहिदनगरमा काँग्रेस विरुद्ध प्रदर्शन, विद्यालय र वडा कार्यालयको ताला फुटाइयो


टुडेखोज, जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ९ स्थित दुई विद्यालय र वडा कार्यालयमा नेपाली काँग्रेसले लगाएको ताला आज तोडिएको छ ।

वडाध्यक्ष रामदेव मरिकको नेतृत्वमा युवा तथा अभिभावकहरुले ताला तोडेका हुन् । काँग्रेस कार्यकर्ताले बिना जानकारी वडा कार्यालय र विद्यालयमा लगाएको ताला तोड्दै युवा र अभिभावकहरु नाराबाजी समेत गरेका थिए ।

विद्यालयमा तालाबन्दी गर्न पाइदैन, विद्यार्थीको भविष्यसँग खेलवाड नगर, नेपाली काँग्रेस मुर्दावाद जस्ता नारा युवा तथा अभिभावकहरुले लगाए । अभिभावकहरुले काँग्रेसका स्थानीय नेता कार्यकर्ताले जनतालाई दुःख दिने काम गरिरहेको आरोप समेत लगाएका छन् ।

वडाध्यक्ष मरिक भन्छन्, ‘तालाबन्दी किन गर्यो ? मलाई केहि जानकारी गराएन । जुन विषयमा असन्तुष्टि छ, त्यो मलाई कम्तिमा जानकारी गराउनु पर्थ्यो । तर आफुखुसी काँग्रेसले तालाबन्दी गर्दा हामीले तोडेका छौं ।’ तालाबन्दीका कारण विद्यार्थी र जनता समस्यामा परेको थियो– उनले भने ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु शहिदनगर नगरपालिकाले कार्तिक १६ गतेदेखि संचालनमा ल्याएको छ । तर काँग्रेसले वडा नम्बर ९ का आधारभुत विद्यालय बिर्ता र राष्ट्रिय प्राथमिक विद्यालय गोठ कोयलपुर तथा वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।

विद्यालयमा गैरकानुनी रुपमा बाल विकास शिक्षक नियुक्त गरेको भन्दै काँग्रेसका वडा सभापति दिलिप भरखेरको नेतृत्वमा ति दुबै विद्यालयमा तालाबन्दी गर्दा हजारौं विद्यार्थीहरु पढाइबाट बञ्चित भयो भने वडा कार्यालयमा तालबन्दी गर्दा नागरिकता सिफारिस लगायतका कामकाज बन्द भएको थियो ।

‘गैरकानुनी तरिकाले कसैको नियुक्ति भएको छ भने विद्यालयमा तालाबन्दी गरी विद्यार्थीको भविष्यसँग खेलवाड गरेर समस्या समाधान हुन्छ ?,’ वडाध्यक्ष मरिकले प्रश्न गरे । उनले प्रक्रिया पुरा गरेर नियुक्ति गरिएको दावी गरे । उनले हरहिसाव समेत दिन आफु तयार रहेको बताए ।

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ