निर्वाचन क्षेत्र विकासका लागि ६ करोडले पुगेन, १ अर्व चाहियो : सांसद यादव


बारा : संघीय सांसद रामबाबु कुमार यादवले निर्वाचन क्षेत्रको विकासको लागि संघीय सरकारबाट प्रत्येक वर्ष एक अर्ब रुपैयाँ दिनु पर्ने माग गरेका छन् ।

शुक्रबार कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘संघीय सरकारले क्षेत्रको विकासको लागि उपलब्ध गराएको छ करोड रकम थोरै हो । अब एक अर्ब दिनु पर्यो ।’ मात्र ६ करोड बजेटका कारणले आफूहरु जनताबाट कुटाई खाने अवस्थामा पुगेको उनले गुनासो गरे ।

बाराको निर्वाचन क्षेत्र ३ बाट निर्वाचित उनले क्षेत्रको जनताले आवश्यक कार्य गर्नको लागि बजेट माग गर्ने गरेको बताए । उनले छ करोड रुपैयाँबाट क्षेत्रको विकास गर्न नसकिने भएकोले जनताहरु टाढिदै गएको समेत बताए ।

क्षेत्रमा एक सय ५० जति गाउँहरु रहेको र सबै गाउँहरुमा सडक, नाला, खानेपानी, सिँचाइको लागि कुलो, नदी कटान गर्दा तटबन्ध लगाएतको थुप्रै समस्यहरु रहेका र त्यसलाई निर्वाचन क्षेत्रको लागि प्राप्त बजेटबाट पुरा गर्न नसकिने अवस्था रहेको उनको भनाई छ ।

संघीय सरकारले निर्वाचन क्षेत्रमा एक वर्षमा एक अर्बको बजेट रकमको योजनाहरु दिएर त्यसको कार्यान्वयन गराउनु पर्ने माग समेत सांसद यादवले गरेका छन् ।

‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्रको लागि प्राप्त छ करोड बजेटलाई सांसदले छनौट गर्ने अधिकार पाएपनि त्यसको खर्च गर्ने अधिकार स्थानीय तहले पाएको छ’, उनले भने, ‘सोही कारण कतिपय स्थानहरुमा गुणस्तर काम समेत गर्नमा समस्या देखिएको छ ।’

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ