कोरोना संक्रमण बढ्न थालेछि रौतहटमा पुनः निषेधाज्ञा


टुडेखोज, रौतहट : कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आज शनिवारदेखि पुनः जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाबारे सुचना सार्वजनिक गरेका थिए । दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै पुनः निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप जिल्लाभरि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । आगामी मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योगवाणिज्य, व्यापारिक संघसंस्था, सामाजिक संघसंस्था, सर्वसाधारण एवं सरोकार पक्षसँग प्रजिअ यादवले अनुरोध गरेका छन् ।

कोरोना संक्रमणबाट रौतहटमा हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । अहिले जिल्लामा १७४ संक्रमित उपचाररत छन् ।

जिल्लाभरि सार्वजनिक खेलकूद, नाच, तमासा, मेला, भीडभाड हुने कार्यक्रम, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलूस र प्रदर्शन गर्नमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा पनि दैनिक नित्य, पूजाराधनाबाहेक गतिविधि सञ्चालन नगर्न पनि आदेश जारी गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक २२, शनिबार १०:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ