सिरहामा यसरी हुन्छ पशु वीर्य उत्पादन, पूर्वका १६ जिल्ला लाभान्वित


सिरहा : तरल नाइट्रोजन तथा पशु वीर्य उत्पादनमा लाहानस्थित राष्ट्रिय पशु प्रजनन कार्यालय आत्मनिर्भर भएपछि पूर्वक्षेत्रमा पशु उत्पादनमा उल्लेखनीय वृद्धि हुँदै गएको छ ।

पशुधनको रुपमा रहेको उन्नत जातका पशुहरुको वीर्य उत्पादन गरी प्रदेश १ को १४ वटा जिल्ला तथा प्रदेश २ को सिरहा र सप्तरीमा आपूर्ति गर्न थालेपछि पूर्वका १६ जिल्लामा पशु उत्पादनमा उल्लेखनीय वृद्धि हुँदै गएको हो । लाहानबाट उत्पादित पशु वीर्य पशुपालन पेशामा खपत हुन थालेपछि अहिले लाहानस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयलाई वीर्य उत्पादन गर्न भ्याइ नभ्याई छ ।

‘गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दीमा पनि हामीले पशु वीर्य उत्पादन र आपूर्ति गर्न रोकेनौं’, राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानका प्रमुख वरिष्ठ पशु विकास अधिकृत नन्दलाल चौधरीले भने, ‘बन्दावन्दीको अवधिमा सबैतिरको कारखाना बन्द रह्यो तर पशु वीर्य र त्यसलाई जीवित राख्ने तरल नाइट्रोजन उत्पादन गर्ने कारखाना हामीले बन्द गरेनौं, यसले गर्दा बन्दाबन्दीपछिको समयमा कृषकको माग अनुसार पशु वीर्य आपूर्ति गर्न हामीलाई अहिले सजिलो भएको छ ।’

आर्थिक वर्ष ०७७/७८ मा दुई लाख डोज राँगाे र साँढेका पशु वीर्य तथा त्यसलाई जीवित राख्न ७० हजार लिटर नाइट्रोजन उत्पादन गर्ने लक्ष्य रहेकोमा ६० हजारभन्दा बढी डोज पशु वीर्य र १६ हजार लिटर जति तरल नाइट्रोजन उत्पादन गरिसकेको वरिष्ठ पशु विकास अधिकृत चौधरीले जानकारी दिए ।

पशु वीर्य र तरल नाइट्रोजनको उत्पादनलाई छठपर्वपछि अझ बढी परिमाणमा उत्पादन गरिने बताइएको छ । गत आर्थिक वर्ष एक लाख ५० हजार डोज लक्ष्य रहेको उक्त कार्यालयले एक लाख ८८ हजार ३८७ डोज पशु वीर्य तथा ५० हजार लिटर तरल नाइट्रोजन उत्पादन गर्ने लक्ष्य रहेकोमा ६० हजार ६७० लिटर उत्पादन गरेको थियो ।

पहिले पोखरा र जनकपुरबाट ल्याएर विक्री वितरण गर्दै आइरहेको सो कार्यालयले पछिल्लो छ वर्षदेखि पशु वीर्य र तरल नाइट्रोजन आफैले उत्पादन गर्न थालेको हो । पशु वीर्य उत्पादन गर्न उक्त कार्यालयसँग दुई वटा होलस्टोन साँढे, दुई वटा हरियाना साँढे, पाँच वटा मुर्रा राँगा छन् भने दुई वर्षभित्रको चार वटा जर्सी गाईको बाच्छा  छन् ।

जर्सीका बाच्छाहरुबाट आउँदो वर्षदेखि वीर्य सङ्कलन गर्ने योजना रहेको बताइएको छ ।उन्नत नस्लको वीर्य स्थानीय स्तरमै उत्पादन हुन थालेपछि किसानहरु अहिले पशुपालन पेशाप्रति आकर्षित हुदैं हुन थालेका कार्यालय प्रमुख चौधरीले बताए ।

‘पहिले पशु वीर्यको अभावले अरु जिल्लाका कृषकको कुरा छोडौं, स्थानीय कृषकहरुलाई त पशुपालन व्यवसाय गर्दा निकै नोक्सानी बेहोर्नुपर्ने अवस्था थियो’, प्रमुख चौधरीले भने, ‘अब अहिले पशु वीर्यको लागि पूर्वक्षेत्रका १६ जिल्लाका सबै स्थानीय तहका पशु प्रजनन् केन्द्रहरुमा यो सुविधा उपलब्ध छ ।’

सन्तोष सुवेदी, गोरखापत्र दैनिक

प्रकाशित : २०७७ कार्तिक २२, शनिबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ