धार्मिक तथा ऐतिहासिक दुधमती नदी सफाई अभियानको एक वर्ष पूरा


टुडेखोज, जनकपुरधाम : धार्मिक तथा ऐतिहासिक दुधमती नदी सरसफाई अभियानको एक वर्ष पूरा भएको छ । शनिवार सफाई समितिले भव्यताका साथ प्रथम वार्षिकोत्सव मनाएको हो ।

जनकपुरधाम उपमहानगरपालिका २२ बिसपट्टीस्थित रहेको नदी संरक्षण, सम्र्वधन, वृक्षारोप्न तथा सफाई अभियान गत वर्षदेखि हुँदै आएको छ । फोहर र दुर्गन्धले अस्तीत्वको धरापमा पुग्न थालेपछि युवा अभियन्ताले एतिहासिक दुधमती नदी संरक्षण तथा सप्ताहिक सरसफाई अभियान समिति गठनगरी गत वर्ष कार्तिक २१ गतेदेखि नियमित रुपमा साप्ताहिक सफाई अभियान सुरु गरेका थिए ।

समितिका अध्यक्ष सुदिप कुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सासंद यादवले मानव सभ्यता र पर्यावरण जोगाउन सबैले संकलप लिँनु पर्ने औल्याए । नदीको इतिहास बारे उल्लेख गर्दै भगवान सितासंग जोडिएकाले संरक्षणमा जोड दिनु पर्ने बताए ।

‘पहिले हामीले दूधमतीको पानी पिउथ्यौं, साधुसन्त, स्थानीयबासी सबैले पिउँथे, पछिल्लो समय ध्यान नपुग्दा दुषित बन्यो,’ उनले भने, ‘नदीको पानी पहिलेजस्तै सफा राख्नुपर्छ । अभियन्ताले गरेको काममा सँधै हाम्रो सहयोग हुन्छ ।’

के छ दुधमतीको इतिहास ?

जनकपुरधाम २२ बिसपट्टी स्थित रहेको दुधमती नदीमा पौराणिक कालमा दूध बग्ने गरेको धार्मिक मान्यता छ । र, यही मान्यताका आधारमा नदीको नाम नै दूधमती राखिएको थियो । जुन नदीको धार्मिक र साँस्कृतिक महत्व रहेको छ ।

धार्मिक आस्था र विश्वासका कारण अहिले पनि दूधमती नदीमा दूध बग्ने गरेको भक्तजनहरुको विश्वास छ । दूधमतीको इतिहास त्रेता युगसँग जोडिएको धार्मिक मान्यता छ । मिथिलाका राजा जनककी छोरी माता सीताको जीवनसँग जोडिएको हुँदा दूधमती नदीको छुट्टै महत्व छ ।

राजा जनकले हलो जोत्ने क्रममा पृथ्वीको गर्भबाट सीताको जन्म भएको मान्यता छ । राजा जनकले बाल्यवस्थामा दूध खुवाउन कामधेनु गाई नै मगाएका थिए । बाल्यकालमा सीताले कामधेनु गाईको दूध खाने क्रममा मुखबाट झरेको दूधको फिँजले दूधमती नदीको उत्पत्ति भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सीताको जीवनसँग जोडिएको धार्मिक तथा ऐतिहासिक नदी अहिले इतिहासमै सीमित हुने अवस्थामा पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवादेखि सुरु भएको दूधमती नदी जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म बगेर लोप हुन्छ  ।

४६ किलोमिटर लम्बाइको दूधमती नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदी मानिन्छ । यो नदीलाई स्वदेशी तथा विदेशी हिन्दूधर्मावलम्बीले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्ण स्थलका रूपमा लिने गरेका छन् । दूधमती नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने र चिताएको पुग्ने जनविश्वास छ ।

जनकपुरका महत्वपूर्ण धार्मिक सम्पदामध्ये एक हो, दूधमती नदी । तर, संरक्षण अभाव तथा जग्गा अतिक्रमणको चपेटामा परेपछि पहिचानका लागि संघर्ष गर्दैछ दूधमती ।

डम्पिङ साइटको रुपमा प्रयोग र व्यक्तिगत नाममा जग्गा दर्ता गराएर सम्याउने भू–माफियाको गतिविधिले दूधमतीको अस्तित्व संकटमा परेको छ । जनकपुरमा डम्पिङ साइट नभएपछि नगर क्षेत्रसँगै आसपासका गाउँबाट समेत निस्केका फोहोर तथा सेफ्टी टयाङ्क विसर्जनका कारण नदी प्रदुषित मात्र भएको छैन, थुनिन पुगेको छ ।

संरक्षण अभावमा नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै गएको छ भने सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै गएको छ ।

प्रकाशित : २०७७ कार्तिक २२, शनिबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ